ad ad

समाज


गैरआवासीय नेपालीले नागरिकता पाउने नियमावली राजपत्रमा

गैरआवासीय नेपालीले नागरिकता पाउने नियमावली राजपत्रमा

फाइल तस्बिर : नेपाली नागरिकताको प्रमाणपत्र


नेपालखबर
असोज ५, २०८० शुक्रबार ११:४, काठमाडौँ

गैरआवासीय नेपालीले नागरिकता पाउनेगरी नागरिकता नियमावली राजपत्रमा प्रकाशन गरिएको छ। 

बिहीबार सरकारले नियमावली जारी गरेसँगै विदेशको नागरिकता लिएका नेपालीले गैरआवासीय नेपाली नागरिकता लिनसक्ने भएका हुन्। 

गैरआवासीय नेपालीले जिल्ला प्रशासन कार्यालय वा दूतावास र महावाणिज्य दूतावासमा निवेदन दिनसक्ने व्यवस्था गरिएको छ। 

नियमावलीअनुसार आफू वा आफ्ना बाबु, आमा, बाजे वा बज्यैमध्ये कसैको नेपाली नागरिकताको प्रमाणपत्रका आधारमा गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिन पाइनेछ। 

जसको नामका आधारमा नागरिकता लिने हो, उक्त नागरिकता जारी भएको  जिल्लाका प्रमुख जिल्ला अधिकारीसमक्ष वा आफू नागरिक रहेको मुलुकस्थित वा त्यस्तो मुलुकसमेत हेर्ने कार्यक्षेत्र तोकिएको नेपाली राजदूतावास वा महावाणिज्य दूतावासमा निवेदन दिन सकिनेछ।

हाल नागरिक रहेको मुलुकबाट लिएको राहदानीको प्रतिलिपि बुझाउनुपर्ने छ। 

राजदूतावास वा महावाणिज्य दूतावासमा निवेदन प्राप्त भएमा सम्बन्धित दूतावासमा कार्यरत कम्तीमा अधिकृतस्तरको कर्मचारीले आवश्यक कुरा बुझी निवेदन प्राप्त भएको १५ दिनभित्र अनिवार्य रुपमा रायसहित परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाउनु पर्नेछ।

‘निवेदनमा निवेदकको नाताभित्रको नेपाली नागरिकले र त्यस्तो नाताको व्यक्ति नभएमा सम्बन्धित व्यक्तिलाई चिन्ने नेपाली नागरिकले सम्बन्धित प्रमुख जिल्ला अधिकारी वा निजले तोकेको अधिकृत कर्मचारीसमक्ष उपस्थित भई सनाखत गरिदिनु पर्नेछ’, नियमावलीमा उल्लेख छ। 

प्रमुख जिल्ला अधिकारीले छानबिन गरी त्यस्तो व्यक्ति गैरआवासीय नेपाली नागरिकता पाउन योग्य देखिएमा गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र जारी गर्नुपर्ने छ। 

छानबिन गर्दा प्रमुख जिल्ला अधिकारीले आवश्यकताअनुसार निवेदकको विदेशी मुलुकको नागरिकता वा राहदानीको वैधताका विषयमा निज नागरिक रहेको मुलुकस्थित वा त्यस्तो मुलुकसमेत हेर्ने कार्यक्षेत्र तोकिएको नेपाली कूटनीतिक नियोगसँग समेत बुझ्नसक्ने व्यवस्था नियमावलीमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .