ad ad

समाज


बाँकेको बाल सुधार गृहमा झडप हुँदा १ कैदीको मृत्यु, १० जना घाइते

बाँकेको बाल सुधार गृहमा झडप हुँदा १ कैदीको मृत्यु, १० जना घाइते

नेपालखबर
असोज ५, २०८० शुक्रबार १०:५६, काठमाडौँ

बाँकेमा अवस्थित बाल सुधार गृहमा दुई समूहबीच झडप हुँदा एक कैदीको मृत्यु भएको छ। 

गएराति डुडुवा गाउँपालिकास्थित जयेन्दु बाल सुधार गृहमा दुई समूहबीच झडप हुँदा एक कैदी युवकको मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले नेपालखबरलाई जानकारी दिए। 

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार झडपमा परेर १० जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 

झडपमा परेर अपहरण, शरिरबन्धक र जबरजस्ती करणीको मुद्दामा सजाय भुक्तान गरिरहेका कपिलवस्तु रुद्रपुरका २१ वर्षीय सुलभ केसीको मृत्यु भएको हो।

झडपमा गम्भीर घाइते भएका केसीको उपचारका क्रममा शिक्षण अस्पताल नेपालगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ। झडपमा परेर गम्भीर घाइते भएकाहरूको शिक्षण अस्पताल नेपालगन्जमै उपचार भइरहेको छ। 

झडपको कारण खुलेको छैन। बाल सुधार गृहभित्रको अवस्था अहिले पनि तनावपूर्ण रहेको स्थानीय प्रशासनले जनाएको छ।

केही दिनअघि लागूऔषध मुद्दाका केही बालकलाई सुधारगृहमा ल्याइएपछि त्यहाँ विगतदेखि बस्दै आएकाहरुले असन्तुष्टि जनाउँदै आएका थिए। 

यहि विषयमा गएराति दुई समूहबीच झडप हुँदा अवस्था तनावपूर्ण बनेको हो। गएको माघमा पनि बाँकेको बाल सुधारगृहमा दुई पक्षबीच झडप, आगजनी र तोडफोड भएको थियो। 

बाँकेको बाल सुधारगृहमा २ सय १६ जना कैदी छन्। जसमध्ये १ सय ६५ जना १८ वर्ष माथिका छन्। गएरातिको झडपमा संलग्न २५ जना कैदीलाई जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखिएको छ। 

एक महिनाअघि भक्तपुरको बालसुधार गृहमा पनि कैदी किशोरहरुबीच झडप हुँदा अवस्था तनावग्रस्त बनेको थियो। एक साताअघि वीरगञ्जस्ति बाल सुधारगृहमा पनि तोडफोड र आगजनी भएको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .