सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ८ ले आफ्नै भवनबाट कार्यालय सञ्चालन गर्न थालेको छ।
हरिवन-८ पुरानो बजारमा भवन निर्माण पूरा भएपछि आज (बुधबार)बाट वडा कार्यालय आफ्नै भवनबाट सञ्चालन गर्न थालिएको वडाध्यक्ष प्रज्वल ढुंगानाले जानकारी दिए।
सर्लाही ३ बाट निर्वाचित सांसद हरिप्रसाद उप्रेतीले बुधबार बिहान हरिवन-८ पुरानो बजरमा आयोजित एक कार्यक्रममा वडा कार्यालयको उद्घाटन गरेका छन्।
संविधान दिवस तथा हरिवन नगरपालिका स्थापना दिवसको अवसर पारेर वडा कार्यालयले आफ्नै भवनबाट प्रशासनिक कामकाज सुरु गरेको हो।
कार्यक्रममा हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी, उपमेयर हरिमाया घलान, विभिन्न राजनीतिक दल र संघसंस्थाका प्रतिनिधि सहभागी थिए।

यसअघि हरिवन-८ को वडा कार्यालय भाडाको घरमा सञ्चालन हुँदै आएको थियो।
झण्डै ३३ लाख रुपैयाँको लागतमा भवन निर्माण पूरा भएको हो। हरिवन नगरपालिकाका केही वडा कार्यालय अझै भाडाकै घरमा सञ्चालन हुँदै आएका छन्।
आफ्नै कार्यालयबाट सेवा सुरु भएपछि वडाले नागरिकलाई प्रदान गर्ने सेवा सुविधा अझ प्रभावकारी हुने विश्वास वडाध्यक्ष ढुंगानाले व्यक्त गरे।
कार्यक्रममा कराँते सिक्दै आएका बालबालिकाले काँटा प्रदर्शन गरेका थिए। त्यसैगरी टोल विकास संस्था, विद्यालय व्यवस्थापन समिति, सामुदायिक वन उपभोक्ता समूह लगायतलाई कार्यक्रममा वडा कार्यालयको तर्फबाट हौसला पत्र प्रदान गरिएको थियो।
Shares

प्रतिक्रिया