ad ad

समाज


आज वर्षाको सम्भावना कहाँ कस्तो? यसो भन्छन् मौसमविद्

आज वर्षाको सम्भावना कहाँ कस्तो? यसो भन्छन् मौसमविद्

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
भदौ २८, २०८० बिहिबार ९:१३, काठमाडौँ

आज (बिहीबार) पनि देशभर मौसम बदली (आकाशमा बादल) र विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्। 

महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अहिले बिहान सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसहित पहाडी भेगमा मौसम आंशिकदेखि सामान्यसम्म बदली भएको छ भने देशका अन्य स्थानमा मौसम सामान्यतया सफा छ। 

‘तत्काल (बिहीबार बिहान करिब ९ बजे) कतै वर्षा भएको भने देखिएको छैन’, उनले भने। 

मौसमविद् लामिछानेका अनुसार यतिबेला काठमाडौं उपत्यकाको मौसम आंशिक बदलीदेखि सामान्यतया मौसम सफा छ। भनेको कतै बादल र कतै घामको अवस्था छ।  

‘काठमाडौं उपत्यकामा आगामी तीन/चार घण्टासम्म वर्षाको सम्भावना देखिएको छैन’, मौसमविद् लामिछानेले भने, ‘अपराह्नतिर भने मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।’

उनका अनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशसहित देशका पहाडी भेगमा  मौसम आंशिकदेखि सामान्यसम्म र अन्य स्थानमा आंशिक बदली हुनेछ। अनि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत पहाडी भूभागका थोरै स्थान र देशका बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको उनले बताए। ‘दिउँसोलाई भारी वर्षाको सम्भावना भने कतै देखिएको छैन’, उनले भने। 

मौसमविद् लामिछानेका अनुसार देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली हुनेछ। अनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै तथा देशका बाँकी भूभागका एक/दुई स्थानमा हल्कादेखि मध्यसम्म वर्षा हुने सम्भवना छ। ‘रातिलाई पनि भारी वर्षाको सम्भावना भने देखिएको छैन’, उनले भने। 

गएराति भने बागमती प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षा भएको उनले बताए। 

मौसमी भाषाको अर्थ

मौसमविद्का अनुसार मौसम सफा भनेको पूरै आकाश छ्याङ हुनु, मुख्यतया सफा भनेको २५ प्रतिशत आकाशमा बादल, आंशिक बदली भनेको २६ देखि ५० प्रतिशतसम्म आकाश बादलले ढाक्नु, साधारणतया बदली भनेको ५१ प्रतिशतदेखि ७५ प्रतिशतसम्म आकाशमा बादल, अधिकांश बदली भनेको ७६ देखि ८८ प्रतिशतसम्म आकाश बादलले ढाक्नु र पूर्ण बदली भनेको ७६ प्रतिशतदेखि ८८ प्रतिशतसम्म आकाशमा बादल हुनु हो। 

मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० मिलिमिटरदेखि माथि ५० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई मध्यम वर्षा तथा ५० भन्दा माथि सय मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई भारी वर्षा भनिन्छ। यस्तै सय मिलिमिटरभन्दा माथि र दुई सयभन्दा मुनि मिलिमिटर पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ। अनि २ सय मिलिमिटरदेखि माथि पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ। 

यस्तै सम्बन्धित क्षेत्रको १० प्रतिशत भूभागमा मात्रै वर्षा हुनुलाई एक/दुई स्थान, १० देखि ३० प्रतिशत भूभागमा पानी पर्नुलाई थोरै स्थान, तोकिएको क्षेत्रको ३० देखि ५० प्रतिशत भूभागमा वर्षा हुनुलाई केही स्थान, ५० देखि ८० प्रतिशत भूभागमा पानी पर्नुलाई धेरै स्थान, ८० प्रतिशतभन्दा बढी भूभागमा वर्षा हुनुलाई अधिकांश स्थानमा वर्षा हुने भनेर बुझ्नुपर्ने मौसमविद् बताउँछन्।

यस्तै मौसम महाशाखाले दिउँसो भन्नाले खासमा दिनको अर्थमा प्रयोग गरेको छ। दिउँसो भनेको बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मको समय बुझ्नुपर्ने मौसमविद् बताउँछन्। यस्तै राति भन्नाले साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समयलाई बुझ्नुपर्ने मौसमविद्को भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .