सुनसरीको बर्जूमा ड्युटीमा तैनाथ सादा पोशाकका दुईजना प्रहरीको हतियार लुट्ने गिरोहका मुख्य नाइकेसहित ६ जना पक्राउ परेका छन्।
गत शुक्रवार मध्यान्ह १२ बजे प्रहरीको चाइनिज पेस्तोल लुट्ने गिरोहका मुख्य योजनाकार मोरङको बूढीगंगा गाउँपालिकाको बाँसबारीका रिजवान मियाँसहित ६ जनालाई प्रहरीले शनिबार पक्राउ गरेको हो।
चाइनिज पेस्तोलबाट गोली नचलेपछि प्रहरीलाई आक्रमण गरेर उनीहरुले लुटेको अनुसन्धानबाट खुलेको छ।
सीमावर्ती क्षेत्रमा हतियार देखाएर लुटपाट गर्ने समूह सक्रिय रहेको सूचनाका आधारमा निगरानीका लागि प्रहरी जवान विमन परियार र प्रेम चौधरी खटिएका थिए। दुवैजना शुक्रबार मध्यान्ह १२ बजे बर्जू गाउँपालिका-१ शुक्रबारे पुगेका थिए।
उनीहरु पुगेपछि लुटेरा समूहसँग जम्काभेट भएको थियो। चार जनाको लुटेरा समूहलाई देखेपछि चाइनिज पेस्तोलबाट गोली चलाउन खोजेका थिए।
तर उनीहरुको हतियारबाट गोलत चलेन। प्रहरीको पेस्तोलबाट गोली नचलेपछि लुटेरा समूहले हतियार र गोली खोसेर भागेका थिए। लुटेराले पनि प्रहरीमाथि गोली चलाउन खोज्दा नपड्केको खुलेको छ।
त्यसपछि उनीहरुले प्रहरीको चाइनिज पेस्तोल र सात राउन्ड गोली लुटेका थिए। तर प्रहरीले तत्कालै सर्च अपरेशन चलाएर लुटेको चाइनिज पेस्तोल र लुटेराको कटुवा पेस्तोल पनि बरामद गरेको छ। प्रहरीबाट लुटिएको नगद र मोबाइल फोन पनि बरामद गरिएको छ।
Shares
प्रतिक्रिया