बाढीपहिरोको विध्वंसपछि तङ्ग्रिदैछ हङकङ

धेरै संरचना पुनर्निर्माण भइसके, केही बन्दैछन्
बाढीपहिरोको विध्वंसपछि तङ्ग्रिदैछ हङकङ

बाढीले बिगारेको संरचना। तस्बिरहरू : एससीएमपी


नेपालखबर
भदौ २४, २०८० आइतबार १७:५४, हङकङ

बिहीबार र शुक्रबार झण्डै डेढ शताब्दीयताकै ठूलो वर्षा बेहोरेको हङकङ बिस्तारै तङ्ग्रिदैछ।

भीषण वर्षासँगै आएको बाढीपहिरोका कारण भत्किएका संरचना धमाधम पुनर्निर्माण भइरहेका छन्। केही बनिसके त केही बन्ने प्रक्रियामा छन्।

‘अधिकारीहरूको कडा मिहिनेतका बाबजुद सहर सामान्य अवस्थातर्फ फर्किँदैछ,’ प्रशासकीय प्रमुख सचिव एरिक चान क्वोक–कि भन्छन्, ‘विद्यालय तथा काममा जाने बासिन्दाहरूले कुनै समस्या भोग्नु हुँदैन।’

यद्यपि हावाहुरीले गरेको क्षतिका कारण १० वटा विद्यालयले सोमबारबाटै भने कक्षा सञ्चालन गर्न नसक्ने शिक्षा ब्युरोले जनाएको छ।

साउकेउ वानस्थित एक विद्यालय अगाडि बाढीले बिगारेको फुटपाथ।

त्यस्तै, यातायात तथा लजिस्टिक्स सचिव लाम साइ–हङले बाढीका कारण क्षति पुगेका ८० वटा सडक मर्मत भइसकेको र थप पाँच वटा सोमबार बिहानसम्म कम्तीमा एक लेन खुल्ने गरी काम अगाडि बढिरहेको बताए।

शुक्रबार पहिरोको चपेटामा परेको साउकेइ वानस्थित यीउहिङ रोड भने पुनःनिर्माण गर्न केही समय लाग्ने सचिव लामले बताएका छन्।

त्यस्तै, विकास ब्युरोका अनुसार लगातार १६ घण्टासम्म भएको ब्ल्याक रेनसँगै आएको हावाहुरीमा ७५ वटा पहिरोका घटना दर्ता भएका छन्। जसमध्ये ५४ वटाको समस्या समाधान भइसकेको छ। ७५ वटा पहिरोका घटनामा १९ वटा सडक पनि अवरुद्ध भएका थिए।

रेडहिल प्रायद्वीपमा गएको पहिरो।

हङकङमा बिहीबार र शुक्रबार झण्डै डेढ शताब्दी यताकै भीषण वर्षा भएको थियो।

अब्जर्भेटरीको मापनमा बिहीबार राति ११ बजेदेखि मध्यरातको बीचमा १५८.१ मिमि वर्षा रेकर्ड भएको थियो। यो सन् १८८४ मा रेकर्ड सुरुभएयताकै उच्च हो।

भीषण वर्षाका कारण सडक, पसल र रेलवे स्टेशनहरू बाढीले डुबेकाले सहर शुक्रबार बिहान ठप्प भएको थियो। बाढीका कारण घाइते भएका सय जना भन्दा बढीलाई अस्पताल पठाइएको थियो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .