ad ad

समाज


बालेन्द्रले हटाए सिंहदरबारमा आगो लगाउने धम्कीसहितको स्टाटस

बालेन्द्रले हटाए सिंहदरबारमा आगो लगाउने धम्कीसहितको स्टाटस

फाइल तस्बिर


नेपालखबर
भदौ १८, २०८० सोमबार ११:१३, काठमाडौँ

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले संघीय सरकारको प्रशासनिक केन्द्र सिंहदरबारमा आगो लगाउने भनेर दिएको धम्कीसहितको फेसबुक पोस्ट हटाएका छन्।

पत्नी सविना काफ्ले सवार सरकारी गाडीलाई शनिबार राति कोटेश्वरमा ट्राफिक प्रहरीले रोकेर चेकजाँच गरेको रिसमा ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्ने अभिव्यक्ति दिएका बालेन अब शान्त भएका हुन्। 

सामाजिक सञ्जालमा उत्तेजक स्टाटस लेखेर चर्चामा आइरहने उक्त स्टाटस उनले सोमबार बिहान हटाएका हुन्। 

बालेन्द्रले शनिबार राति लेखेका थिए, ‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु। याद राख चोर सरकार।’ 

महानगरी ट्राफिक प्रहरी महाशाखाले आइतबार बालेन पत्नी सवार गाडीलाई एक मिनेट पनि नरोकेको स्पष्टीकरण दिएको थियो। बालेन पत्नीमाथि कुनै किसिमको हप्कीदप्की र दुर्व्यहार नभएको महाशाखाको स्पष्टीकरण आएपछि उक्त विवादित फेसबुक पोस्ट हटेको हो। 

बालेनले आफ्नी पत्नी सवार गाडीलाई ७ मिनेटसम्म रोकेको भन्दै अराजक शैलीमा सिंहदरबारमा आगो लगाउने धम्की दिएका थिए। 

ट्राफिक प्रहरीका अनुसार शनिबार राति बालकुमारीबाट कोटेश्वरतिर सरकारी नम्बर प्लेटको गाडी तीव्र गतिमा आइरहेको थियो। नियमित चेकजाँचका क्रममा कोटेश्वर ट्राफिक प्रहरी वृत्तको टोलीले उक्त गाडीलाई रोकेर सोधपुछ गरेको थियो। जसमा मेयर शाहकी पत्नी थिइन्। 

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार नियमित चेकजाँचका क्रममा शनिबार राति साढे ८ बजेतिर कोटेश्वरमा ट्राफिक प्रहरीले महानगरपालिकाको गाडीलाई रोकेर सोधपुछ गरेको थियो। 

चेकजाँचका क्रममा सरकारी नम्बर प्लेटको गाडी देखिएपछि अनुमति (पास) लिइएको छ कि छैन भनेर सोध्दा छैन भन्ने जवाफ आएपछि ट्राफिक प्रहरीले गाडी छाडेको थियो। 

बालेनले पत्नी सवार गाडी रोकेको भन्दै ट्राफिक महाशाखा प्रमुख, काठमाडौंका प्रमुख जिल्ला अधिकारी र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई समेत फोन गरेका थिए। उनीहरुले ट्राफिक प्रहरीले आफ्नो नियमित जिम्मेवारी पूरा गरेको बताएपछि अराजक स्टाटस लेखेका थिए। जुन अब फेसबुकबाट हटाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .