ad ad

समाज


कागबेनी बाढी : एक अर्ब बराबरको क्षति

कागबेनी बाढी : एक अर्ब बराबरको क्षति

फाइल तस्बिर


नेपालखबर
भदौ १०, २०८० आइतबार ११:१८, मुस्ताङ

गत साउन २८ गते मुस्ताङको कागखोलामा आएको बाढीले मानवीय क्षति नभए पनि करोडौँको भौतिक संरचनामा क्षति पुगेको छ। 

बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आएको बाढीका कारण अहिले यहाँका सयौँ स्थानीय आफन्तको घरमा आश्रय लिएर बसेका छन्। व्यापार र कृषि पेसामा आबद्ध स्थानीयको बाढीले घर, पुल र गरिखाने बारी नै बगरमा परिणत गरिदिएपछि उनीहरुलाई हातमुख जोड्नै समस्या भएको छ।

बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको विपद् व्यवस्थापन समितिले तयार गरेको तथ्याङ्कानुसार बाढीले कागबेनीमा करिब एक अर्बको क्षति पुर्याएको छ। 

भौतिक संरचना, स्थानीयवासीको घर, व्यवसाय र विभिन्न सङ्घसंस्थाको कार्यालयमा क्षति पुगेको छ। बाढीले यहाँका कृषकले खेती गर्दै आएको स्याउ बगैँचा र सिँचाइ कुलोमा समेत क्षति पुर्याएको छ।

गाउँपालिकाको कृषि शाखाको तथ्याङ्कानुसार कागबेनीवासी कृषकको करोड बढीको स्याउ, ओखर र नास्पातीलगायतका फलफूल बोट क्षति पुगेको छ। 

बाढीले कृषकको ११ रोपनी तीन कठ्ठा भन्दा धेरै बारीमा लगाइएको स्याउलगायतका फलफूलमा क्षति पुर्याएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका कृषि शाखा प्रमुख लोकेन्द्रसिंह धामीले जानकारी दिए। 

धामिका अनुसार करिब एक सय ६९  भन्दा बढी स्याउ बोटमा क्षति पुगेको छ। स्थानीय मिङमर गुरुङको ४५ वटा स्याउका बोट र नर्सरी नष्ट भएका छन्।

बाढीले सबैभन्दा बढी स्थानीय कृषक कुङ्गा नमडुल गुरुङ, पेमा निङ्वो विष्ट र कर्म छोक्ले गुरुङको स्याउबारीमा रहेको स्याउ बोटमा क्षति पुगेको छ। 

उनीहरूको ३५ देखि ५५ वटासम्म स्याउका बोटमा क्षति पुगेको छ।  कृषि बाढीले स्याउलगायतका कृषि उत्पादन हुने खेतीयोग्य जमिनमा पनि ठूलो क्षति पुगेको छ। करिब सात हेक्टर जमिनमा सिँचाइ गरिने कागबेनी सिँचाइ कुलोमा पनि क्षति पुगेको शाखा प्रमुख धामीले जानकारी दिए।

गाउँलेले कागबेनी वारिपारि क्षेत्रको खेतीयोग्य जमिनमा सिञ्चित गर्दै आएको तीनवटा कुलोमा बाढीले क्षति गरेको छ। ३६ रोपनी जग्गामा सिञ्चित गरिने सिँचाइ कुलोसमेत बाढीले बगाएको छ। 

गाउँपालिकाले कृषकलाई अनुदानमा उपलब्ध गराएको खेतबारी जोत्ने नौवटा हाते ट्रयाक्टरसमेत बाढीले बगाएको छ। बाढीले स्याउका बोट, बगैँचा, विभिन्न कृषि उकरण र सिँचाइ कुलो बगाउँदा करिब एक करोड भन्दा बढीको क्षति भएको धामीले बताए।

‘यहाँका धेरै स्थानीयको मुख्य आयस्रोत स्याउ हो, बाढीले अधिकांश कृषकको स्याउ बगैँचामा ठूलो क्षति पुर्याएको छ, हामीले धेरै दिन लगाएर क्षति विवरण सङ्कलन गरेका छौँ,’ उनले भने, ‘कसैको बगैँचा बगाएको छ, कसैको स्याउ र नास्पातीको बोट बगाएको छ। सिँचाइ कुलो बगाउँदा सयौँ रोपनी खेतीयोग्य जमिन बाँझो बस्ने अवस्था सिर्जना भएको छ।’

बाढीले कृषकको गोठ र पशुचौपाया पनि बगाएको छ। पशुचौपाया बगाउँदा करिब ५० लाख बढीको क्षति भएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका पशु शाखा प्रमुख समीक्षा कठायतले जानकारी र्दिए। 

बाढीले २३ गोठ, ३२ लुलुगाई, दुईवटा खसी र एउटा घोडा बगाएको छ। यसबाट करिब ५० लाख बढीको नोक्सानी भएको छ।

बाढीले नगद, सामान र संरचनामा मात्र ८१ करोड ८३ लाख २५ क्षति गरेको छ। 

सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर, धर्मशाला, सामुदायिक, वडा, प्रहरी चौकीको भवन, तटबन्धलगायत १४ वटा भौतिक पूर्वाधार गरी २१ करोड दुई लाख रुपैयाँ बराबरको क्षति भएको गाउँपालिकाले तयार गरेको  तथ्याङ्कमा उल्लेख छ। 

५० घरमा गरेर ५२ करोड ८९ लाख ७५ हजार मूल्य बराबरको क्षति भएको छ भने बाइसवटा घर पूर्ण र पाँचवटा घरमा आंशिक क्षति भएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .