कपिलवस्तुको वाणगंगा नगरपालिकामा रहेको बागेश्वरी सामुदायिक वनमा मानव कंकाल फेला परेको छ।
वन क्षेत्रभित्र मानव अस्थिपञ्जर तथा साथमा चप्पल पनि फेला परेको इलाका प्रहरी कार्यालय कोपवाका प्रहरी नायव निरीक्षक प्रवीन कार्कीले जानकारी दिए।
वनभित्र भेटिएको कंकालबारे अनुसन्धान भइरहेको उनले बताए।
वाणगंगा नगरपालिका–६ को वन छेउका स्थानीयवासीले च्याउ खोज्न जाँदा मानव कंकाल फेला पारेपछि प्रहरीलाई जानकारी गराएका थिए।
यसैबीच वाणगंगामा कुलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ।
वाणगङ्गा नगरपालिका–८ ढोडेकालेस्थित वाणगंगा नदीबाट सिँचाइका लागि बनाइएको कुलोमा बिहीबार माछा मार्ने क्रममा डुबेर अन्दाजी ५० वर्षीया गुड्डी थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ।
इलाका प्रहरी कार्यालयका अनुसार मृतक महिलालाई बिहीबार बिहान कुलोमा माछा मार्ने क्रममा बगाएको थियो।
उनको शव घटनास्थलबाट झण्डै एक किलोमिटर तल फेला परेको हो। शव परीक्षण गरी परिवारको जिम्मा लगाइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस
Shares
प्रतिक्रिया