ad ad

समाज


तीन पूर्वमन्त्रीलाई फरार सूचीमा राखेर सीआईबीले बुझाउँदै अनुसन्धान प्रतिवेदन

तीन पूर्वमन्त्रीलाई फरार सूचीमा राखेर सीआईबीले बुझाउँदै अनुसन्धान प्रतिवेदन

फाइल तस्बिर


नेपालखबर
भदौ ४, २०८० सोमबार १५:१७, काठमाडौँ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धान फाइल सोमबार सरकारी वकिलकहाँ बुझाउँदैछ।

सीआईबीका एसएसपी दिनेश आचार्यले तीनजना पूर्वभूमिसुधार मन्त्रीहरुलाई समेत प्रतिवादी बनाउँदै अनुसन्धानको फाइल सरकारी वकिलकहाँ बुझाउन लागिएको जानकारी दिए।

सीआईबीले पूर्वमन्त्रीहरु विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीलाई फरार सूचीमा राख्दै प्रतिवेदन बुझाउन लागेको हो।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि यी मन्त्रीहरुविरुद्ध मुद्दा चलाएको थियो। तर त्यसबेला यी सबैजना धरौटी बुझाएर रिहा भइसकेका छन्। 

तर जोशीले भने गत साउन २६ गते नै आफू फरार नरहेको बताउँदै जुनसुकै बेला सरकारी निकायलाई सघाउन तयार रहेको उल्लेख गरेका थिए।

उनी सोमबार पनि बयानका लागि महाराजगञ्जस्थित सीआईबीको कार्यालयमा हाजिर भएका थिए। तर सीआईबीले अनुसन्धान फाइल सरकारी वकिलकहाँ गइसकेको भन्दै बयान नै नलिई फर्काइदिएको छ। तर बयानका लागि पुगेका उनलाई मिसिलमा भने सीआईबीले फरार सूचीमै राखिदिएको छ।

यसअघि साउन २१ गतेको सर्वोच्चको आदेश आएकै दिन सीआईबीले यी तीन मन्त्रीविरुद्ध काठमाडौं जिल्ला अदालातबट पक्राउ पुर्जी लिएको थियो। 

तर पक्राउ पुर्जी जारी भइसकेपछि पनि सार्वजनिक कार्यक्रममा देखिएका कांग्रेस नेता गच्छदारलाई पनि सीआईबीले पक्राउ गरेको थिएन।

यस प्रकरणमा हाल जेलमा रहेका पूर्वराज्यमन्त्री सञ्जय साहसँग भने सीआईबीको टोलीले बयान लिएको थियो। 

यसै प्रकरणमा सीआईबीको टोलीले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसँग उनीहरुकै निवासमा आइतबार बेलुका पुगेर कागज गराएको थियो।

त्यस्तै तत्कालीन मुख्यसचिव लीलामणि पौडेललाई भने सीआईबीले कार्यालयमै बोलाएर कागज गराउँदै छाडिसकेको छ।

ललिता निवास जग्गा प्रकरणमा अहिले भाटभटेनी सुपरमार्केटमा मालिक मीनबहादुर गुरुङ र पूर्वसचिव सुधीर शाहसहित १८ जना हिरासतमा छन्।

पक्राउ परेकामध्ये ५ जना अदालतको आदेशमा छुटिसकेका छन्। हिरासतमा रहेका सबैलाई अब अदालतमा उपस्थित गराइनेछ। छुटेकालाई पनि त्यही दिन अदालतमा उपस्थित गराइनेछ।

ललिता निवास प्रकरणमा बहालवाला सञ्चार सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीर कुमार शाहसहित १७ जना पक्राउ परेका थिए। सञ्चार सचिव राउत भने तत्कालै छुटिसकेका छन्। 

यस प्रकरणमा गत असार १२ गरे एकैपटक सीआईबीले सातजनालाई पक्राउ गरी अनुसन्धान थालेको थियो। 

अहिले मीनबहादुर गुरुङ, सुधीरकुमार शाह , धर्मप्रसाद गौतम, गोपाल कार्की, शिवजी भट्टराई, घमानकुमारी कार्की, बाबुराजा महर्जन, रमेशकुमार पोखरेल, देव नारायण महर्जन, लोकहरि घिमिरे, धुव्रप्रसाद अर्याल, योगराज पौडेल, नारायणदास मिश्र , रुद्रप्रसाद श्रेष्ठ, बालकृष्ण श्रेष्ठ र विनोद पौडेल हिरासतमा छन्। 

कलाधर देउजा, सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसी अदालतको स्टे अर्डरका आधारमा छुटेका छन्। 

सम्बन्धित समाचार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .