ad ad

राजनीति


फरार भएको भनेपछि पूर्वमन्त्री जोशीको जवाफ : म घरमै छु, परेको व्यहोर्न तयार छु

फरार भएको भनेपछि पूर्वमन्त्री जोशीको जवाफ : म घरमै छु, परेको व्यहोर्न तयार छु

फाइल तस्बिर


नेपालखबर
साउन २६, २०८० शुक्रबार १४:४, काठमाडौँ

ललिता निवासको सरकारी जग्गा हिनामिनामा नीतिगत निर्णय गरेको आरोप झेलिरहेका पूर्वभूमिसुधारमन्त्री चन्द्रदेव जोशीले आफू भागेर कहीँ नगएको बताएका छन्।

गत आइतबार सर्वोच्च अदालतको आदेशसँगै जोशीसहित तीन पूर्व भूमिसुधारमन्त्रीहरुविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भइसकेको छ।

यस्तोमा एकजना पूर्वमन्त्री जोशीले आफू भागेर कहीँ नगएको बताउँदै परेको व्यहोर्न तयार रहेको बताएका छन्। 

‘म त घर मा नै छु। मेरो फोन सम्पर्क पनि चालु छ। सहयोग गर्न तयार भएर बसेको छु। परेको बेहोर्न पनि तयार छु’, उनले भनेका छन्, ‘जीवनभर राजनीति गरेँ। देशका लागि त्याग मात्रै गरेको छु । कहिले कुनै स्वार्थमा परेको छैन। दुःख लागेको छ।’

सर्वोच्चको आदेशलगत्तै तत्कालीन विभागीय विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको थियो। त्यसैगरी राज्यमन्त्री सञ्जयकुमार साहविरुद्ध पनि अदालतले पक्राउ गर्न अनुमति दिएको थियो।

पक्राउ पुर्जी जारी भएर पनि सीआईबीले यी चार मन्त्रीलाई अहिलेसम्म पक्राउ गरेको छैन। आफूसहितका मन्त्रीहरु फरार रहेको समाचार आउन थालेपछि पूर्वमन्त्री जोशीले आफू काठमाडौंको नयाँबानेश्वरस्थित घरमै रहेको र राज्यलाई सघाउने जानकारी दिएका हुन्। 

यसअघि साउन २२ मै पूर्वमन्त्री जोशीले ललिता निवासको सरकारी जग्गा अपचलन प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गरेका थिए। 

उनले २०६९ असोज १८ गते ललिता निवासबारे मन्त्रिपरिषद्‍बाट निर्णय हुँदा आफू मन्त्री पदमै नरहेको बताएका थिए।

‘वर्तमान सरकारले चालेको भ्रष्टाचारविरोधी अभियानमा मेरो पूरै समर्थन छ। देशमा नासुरको रुपमा रहेको भ्रष्टाचार मेटियोस् भन्ने मेरो चाहना र अपेक्षा हो’, उनले भनेका थिए, ‘लगतार त्यसैतर्फ मेरो राजनीतिसमेत लक्षित हुँदै आएको छ। अनुसन्धान निकायलाई मेरो पूरा सहयोग रहनेछ।’

उनले तर समाचारमा आए जस्तो नीतिगत निर्णयमा आफू नजोडिएको पनि बताएका थिए।

‘२०६९ असोज १८ गते ललिता निवासबारे मन्त्रिपरिषद्‍मा निर्णय हुँदा म मन्त्री पदमा थिइनँ। मन्त्रिपदबाट मैले त्यसअघि नै असोज ४ गतेको मितिमा राजीनामा गरिसकेको थिएँ’, उनले भनेका थिए, ‘म २०६९ जेठ ३ देखि असोज ४ गते सम्ममात्रै तत्कालीन बाबुराम भट्टराई मन्त्रिपरिषदमा रहेको हुँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .