ad ad

राजनीति


‘फरार’ भनिएका पूर्वमन्त्री जोशी आफैं सीआईबी पुगे, बयान नलिई फर्काइयो

‘फरार’ भनिएका पूर्वमन्त्री जोशी आफैं सीआईबी पुगे, बयान नलिई फर्काइयो

बयानका लागि सीआईबी पुगेका चन्द्रदेव जोशी। तस्बिर : अरुणदेव जोशी


नेपालखबर
भदौ ४, २०८० सोमबार १५:२, काठमाडौँ

सीआईबीले सरकारी वकिललाई फाइल पठायोसर्वोच्च अदालतको साउन २१ गतेको आदेशपछि पक्राउ पुर्जी जारी गरिएका तत्कालीन भूमिसुधार मन्त्री चन्द्रदेव जोशीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बयान नलिई फर्काइदिएको छ।

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गमा हिनामिना प्रकरणको अनुसन्धान फाइल सरकारी वकिलकहाँ पठाइएको भन्दै बयानका लागि पुगेका जोशीलाई त्यतिकै फर्काइएको हो।

जोशी सोमबार बयान दिनका लागि महाराजगञ्जस्थित सीआईबीको कार्यालयमा पुगेका थिए। 

जोशीका अनुसार उनलाई पहिलो पटक सीआईबीले नै बयानका लागि बोलाएको पनि खुलाएका छन्।

‘पहिलो पटक सीआईबी प्रमुख (किरण बज्राचार्य) आफैंले बयानका लागि भनेर बोलाउनु भयो’, उनले भने, ‘तर फेरि अहिले नआउनु भनेर खबर आयो।’

उनले आफू फेरि सीआईबीले बोलाए बमोजिम दिउँसो सवा १ बजे महाराजगञ्ज पुगेको बताए।

‘आज पनि म सीआआईबी कार्यालय पुगेको थिएँ। तर बयान नलिई फेरि बोलाउँला भनी फर्काइयो’, उनले भनेका छन्, ‘भ्रष्टाचारविरुद्धको हरेक प्रयासमा मेरो प्रतिवद्धता कायम छ। म फरार छैन।’

यसअघि पनि ललिता निवास प्रकरणमा नीतिगत निर्णय गरेको आरोप झेलिरहेका जोशीले आफू भागेर कहीँ नगएको बताएका थिए। 

साउन २१ गतेको आइतबार सर्वोच्च अदालतको आदेशसँगै जोशीसहित तीन पूर्व भूमिसुधारमन्त्रीहरुविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएपछि उनले यसो भनेका थिए।

‘म त घर मा नै छु। मेरो फोन सम्पर्क पनि चालु छ। सहयोग गर्न तयार भएर बसेको छु। परेको बेहोर्न पनि तयार छु’, उनले भनेका थिए, ‘जीवनभर राजनीति गरेँ। देशका लागि त्याग मात्रै गरेको छु । कहिले कुनै स्वार्थमा परेको छैन। दुःख लागेको छ।’

सर्वोच्चको आदेशलगत्तै तत्कालीन विभागीय विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको थियो। त्यसैगरी राज्यमन्त्री सञ्जयकुमार साहविरुद्ध पनि अदालतले पक्राउ गर्न अनुमति दिएको थियो।

पक्राउ पुर्जी जारी भएर पनि सीआईबीले यी चार मन्त्रीलाई पक्राउ नगरी सीआईबीले मुद्दाको फाइल सरकारी वकिलकहाँ लगेको छ। आफूसहितका मन्त्रीहरु फरार रहेको समाचार आउन थालेपछि पूर्वमन्त्री जोशीले आफू काठमाडौंको नयाँबानेश्वरस्थित घरमै रहेको र राज्यलाई सघाउने जानकारी दिएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .