समाज


कुलमानकै पत्रकार सम्मेलनमा गयो पटक पटक बिजुली

कुलमानकै पत्रकार सम्मेलनमा गयो पटक पटक बिजुली

पत्रकार सम्मेलनका क्रममा कुलमान घिसिङ। तस्बिर : सरोज नेपाल


नेपालखबर
साउन २५, २०८० बिहिबार १५:४७, काठमाडौँ

पछिल्लो केही समययता काठमाडौंसहित देशभर बिजुली आपूर्ति अनियमित भइरहन्छ।

लोडसेडिङ हटेको लामो समय बितिसक्दा पनि बिनाजानकारी बिजुली जाँदा उपभोक्ताले सास्ती भोग्नु परेको छ।

बिहान, बेलुका जुनसुकै समयमा बिजुली अचानक जाने गरेको छ। कतिपय उपभोक्ताले खाना खाँदा खाँदै बिजुली जाने गरेको बताउँदै बरु लोडसेडिङ गरे हुने भनेर आक्रोश पोखिरहेका छन्।

बिजुली अचानक गइरहने क्रममा बिहीबार नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्कमा पनि देखियो। 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन गरिरहँदा केही मिनेटको बचीमा तीन पटकभन्दा धेरै बिजुली गयो।

घिसिङले बोलिरहेका बेला सबैभन्दा पहिले कम्तीमा २ मिनेट बिजुली गयो। बिजुली गएपछि प्राधिकरणको हलमा उपस्थित भएकाहरुले हो-हल्ला नै गरे। 

पत्रकाहरुले हल्ला गरेपछि घिसिङले उनीहरुलाई शान्त बनाउने कोसिस गरे। उनले सिस्टममा समस्या (डिस्टर्ब) भएको बताउँदै उनले केही बेरमा आइजाने बताए। 

कुलमानले त्यसो भनेको केही सेकेन्डमङ्गै बिजुली आयो। तर, बिजुली आएपछि कुलमानको सम्बोधन अघि बढ्न नपाउँदै फेरि गएर हलमा हल्लाखल्ला भयो। 

त्यसपछि पनि कुलमानले पत्रकारहरुलाई आश्वस्त बनाए। उनले प्रसारणलाइनमा केही गडबडी भएकाले यस्तो हुन गएको बताए। उनले त्यति भनेपछि पनि बिजुली आउने जाने क्रम चलिरह्यो।

पत्रकार सम्मेलनका क्रममा प्राधिरकणले राष्ट्रिय प्रसारणबाट देशभरका ९५ प्रतिशत नागरिकले विद्युत प्रयोग गरिरहेको जानकारी उनले दिए। 

गत आर्थिक वर्षको विवरण सार्वजनिक गर्दै घिसिङले यस्तो बताएका हुन्। उनका अनुसार २ वर्षअघि ८९ प्रतिशतत नागरिकले राष्ट्रिय प्रशारणमार्फत विद्युत्को पहुँच पाएका थिए।

‘करिब २ वर्षअघि ८९ प्रतिशत नागरिकले राष्ट्रिय प्रशारणमार्फत विद्युत्मा पहुँच पाएकोमा, अहिले ९५ प्रतिशत नागरिकले राष्ट्रिय प्रशारणको विद्युत पाएको छ,’ घिसिङले पत्रकार सम्मेलनमा भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad