समाज


सर्पको विषले सिकिस्त बनेका बालक नवलपुरबाट रेफर भए, जनकपुर पुगेपछि मृत्यु

सर्पको विषले सिकिस्त बनेका बालक नवलपुरबाट रेफर भए, जनकपुर पुगेपछि मृत्यु

नेपालखबर
साउन २२, २०८० सोमबार ११:२७, सर्लाही

सर्लाहीमा सर्पदंशबाट गम्भीर अवस्थामा पुगेका एक बालकले समयमै उपचार नहुँदा मृत्यु भएको छ। 

सर्पदंशको उपचार समयमै नहुँदा सर्लाहीको चन्द्रनगरमा १२ वर्षीय बालकको मृत्यु भएको हो। 

चन्द्रनगर गाउँपालिका ५ महोनपुर घर भएका नजामुद्दिन अन्सारीका १२ वर्षीय छोरा नुरसैद्दको समयमै सर्पदंशको उपचार नहुँदा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

बालक चन्द्रनगरकै श्रीनगरस्थित मावली घरमा बसेर पढ्दै आएका थिए। मामाको घरमै भएको बेला आइतबार राति सुतेकै ठाउँमा उनलाई करेट प्रजातिको विषालु सर्पले टोकेको थियो।

राति बालकसँगै सुतेका अन्य बालबालिकाले नुरसैद्दलाई कालो सर्पले कानमा टोकेको जानकारी अभिभावलाई गराएपछि उनलाई उपचारको लागि सुरुमा नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा लगिएको थियो। त्यतिबेलासम्म बालक सर्पको विषले लठ्ठ परिसकेका थिए। 

बालकलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्था देखेपछि नवपुरका स्वास्थ्यकर्मीले उनलाई तुरुन्तै प्रादेशिक अस्पताल जनकपुर लैजान सुझाव दिएका थिए। 

जनकपुरमा उपचारकै क्रममा राति नै बालकको मृत्यु भएको हो। बालकको उपचारमा ढिलाई भएकाले उनको मृत्यु भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

सर्पदंश उपचार केन्द्र नवलपुरमा पनि आईसीयू र भेन्टिलेटर मेसिन भने छ। तर, दक्ष प्राविधिक जनशक्तिको अभाव हुँदा त्यो भेन्टिलेटर चार वर्षदेखि कोठामा थन्क्याएर राख्ने गरिएको छ। 

चार वर्षदेखि नै भेन्टिलेटर र आईसीयू कोठामा थन्क्याएर राखिँए पनि त्यसलाई सञ्चालन गर्ने तर्फ सम्बन्धित पक्षले ध्यान दिएका छैनन्। 

उपचार केन्द्रका प्रमुख डा. हर्षनारायण झाले आईसीयू र भेन्टिलेटर सञ्चालनमा नहुँदा गम्भीर प्रकृतिका सर्पदंशका बिरामीको उपचार गर्न नसकिएको बताए। 

‘ढिलागरी अस्पताल आउने, गोमन र करेतजस्ता विषालु सर्पले टोकेका गम्भीर अवस्थाका बिरामीलाई बचाउन आईसीयू र भेन्टिलेटर जरुरी पर्छ,’ उनले भने, ‘हामीसँग हाल त्यो सुविधा छैन। गोमन र कालो करेत (कमन करेत) ले टोकेका र गम्भीर अवस्थाका बिरामीलाई बाहिर रेफर गर्नुको विकल्प हामीसँग छैन।’ 

नबलपुरबाट रेफर भएका बिरामीलाई एम्बुलेन्समा जनकपुर अथवा वीरगञ्ज लैजाने गरिएको छ। तर, त्यसरी रेफर भएका धेरैजसो बिरामीले अकालमै ज्यान गुमाउँदै आएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .