समाज


सय किलो सुनको मालिक को? राजस्वको ‘रेडार’ मा यी तीन व्यापारी

हङकङमा व्यवसाय गर्ने राकेश अडुकियाले सुन समातिए लगत्तै नेपाल छाडे
सय किलो सुनको मालिक को? राजस्वको ‘रेडार’ मा यी तीन व्यापारी

राजश्व अनुसन्धान विभागले राकेश अडुकिया, अर्का एक व्ययवसायी र दीपक मलहोत्रामा छानविन केन्द्रित गरेको छ


सागर न्यौपाने/उजिर कार्की
साउन ११, २०८० बिहिबार ७:७, काठमाडौँ

साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद करिब सय किलो सुनको मालिक पत्ता लगाउन राजस्व अनुसन्धान विभागले तीन जना व्यापारीमा अनुसन्धान केन्द्रित गरेको छ।

हङकङबाट आएको सुन विभागको टोलीले नै समातेको थियो, जसको अनुसन्धानमा अहिले प्रहरीले समेत सहयोग गरिरहेको छ। 

बुधबार साँझसम्म यसमा संलग्न दुई विदेशीसहित १७ जनालाई पक्राउ गरेको राजस्वले केही व्यापारिक घरानालाई केन्द्रमा राखेर अनुसन्धान थालेको छ। अहिलेसम्म पक्राउ परेकाहरु बिचौलिया र भरिया मात्रै भएको राजस्वको प्रारम्भिक निष्कर्ष छ। 

राजस्वको अनुसन्धान रेडारमा तीन जना व्यवसायी छन्। राकेश अडुकिया, दीपक मलहोत्रा र अर्का एक सुन व्ययवसायीमाथि अनुसन्धानको सुई केन्द्रित गरिएको अनुसन्धानमा संलग्न उच्च अधिकारीले मंगलबार साँझ नेपालखबरलाई बताए। अडुकिया र मलहोत्रा पनि विगतमा सुन तस्करीमा जोडिएका व्यावसायी हुन्। 

सेयर कारोबारी समेत रहेका अडुकियाको घरमा राजस्वको टोलीले बुधबार छापा मारेको छ। केही सामान बरामद गरेको विभागले उनका गतिविधि नियालिरहेको छ। 

अडुकिया भाग्न सक्ने आशंकामा राजस्व विभागले उनको पासपोर्ट कालो सूचीमा राख्न अध्यागमन विभागमा पत्राचार गरेको छ। तर करिब सय किलो सुन समातिएको २–३ दिनभित्रै अडुकियाले देश छाडिसकेको सो उच्च स्रोतको भनाइ छ। जुन सूचना राजस्व विभागले समेत पाइसकेको छ। 

अडुकियाले देश छाड्नु र सम्पर्कविहीन हुनुले उनकै संलग्नतामा सुन कारोबार भएको राजस्वको आशंकामा थप बल पुगेको छ। तस्करीको सुन बरामद हुनासाथ नाम जोडिएपछि पत्रकार सम्मेलन गरेर खण्डन गरेका दीपक मलहोत्रा पनि राजस्वको निगरानीमा छन्। 

तर राजश्वका उच्च अधिकारी भन्छन्, ‘कहीँ न कहीँ मलहोत्राको संलग्नतामा शंका गर्ने प्रमाण हामीसँग छन्। कति संलग्नता खुल्छ, हेर्दैछौँ।’ 

राजस्वले सबैभन्दा नजिकबाट अर्का एक व्यापारीलाई नियालिरहेको छ। उनी सुनकै कारोबार गर्छन्। उनीबाट ठूलो मात्रामा सुन किनेका काठमाडौंका सुन व्यावसायीसम्म राजस्वको टोली पुगिसकेको छ।

‘ती व्यापारीका सुन कारोबारका चार वटा लेयर देखिएका छन्। उनले गाउँबाट ल्याएर गालेको सुन भन्दै बेच्दा रहेछन्,’ राजश्वका अधिकारीले भने, ‘व्यवसायीले पटकपटक उनीबाट सुन खरिद गरेको प्रमाण भेटिसकेका छौँ।’

अहिले राजस्वको अनुसन्धान टोलीले सबै संयन्त्र प्रयोग गरेर यी नै तीन जनाका सूचना संकलन र उनीहरुसँग जोडिएका व्यक्तिमाथी निगरानी बढाइरहेको छ। 

‘अहिले हाम्रो सबै प्रयास अनुसन्धानलाई निचोडमा पुर्‍याउन केन्द्रित छ, हामीसँग समय पनि पर्याप्त छ। अहिले अनुसन्धान टोली जिम्मेवारी बाँडफाँट गरेर ठोस प्रमाण जुटाउन लागिरहेको छ, व्यक्ति भाग्नु र अस्वीकार गर्नुको अर्थ छैन,’ ती अधिकारीले थपे। 

राजस्व अनुसन्धान विभागले यो मुद्दामा अनुसन्धान गर्नका लागि ९० दिनको समय पाउँछ। ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गरेपछि उच्च अदालतमा मुद्दा दायर गर्नेछ। 

हङकङ हुँदै नेपाल भित्रिएको सुन जफत गरेको ८ औं दिन भइसकेको छ। राजस्वको अनुसन्धान टोली तस्करको नेपालदेखि हङकङसम्मको कनेक्सन केलाउँदैछ। तर सुन तस्करीका नाइके किटान गर्ने गरी अन्तिम तहसम्म पुग्न समय लाग्ने राजस्वका अधिकारी बताउँछन्। 

‘अहिले अनुसन्धान जुन दिशामा अगाडि बढिरहेको छ, हामी सफल भएका छौँ, मुख्य कुरा सुन कसको हो भन्ने पत्ता लगाउनु नै हाम्रो चुनौती हो, अनुसन्धान साँघुरिँदै गएको छ,’ ती अधिकारीले भने। 

रेडी ट्रेड तस्करीकै लागि खडा 
हङकङबाट सामान पठाउँदा रेडी ट्रेड कम्पनीको नाममा पठाइएको थियो। तर यो कम्पनी भने सामान्य ज्यामीको नाममा रहेको खुलेको छ। नत रेडी ट्रेडले ठूलो कारोबार नै गरेको भेटिएको छ। 

केही महिनादेखिको कारोबार हेर्दा यो कम्पनीका नाममा ५ सय डलरको मात्रै कारोबार भएको पाइएको छ। 

‘यी संस्था यस्तै उदेश्यका लागि स्थापना भएका देखिन्छन्, तर जसको नाममा कम्पनी छ, त्यो पत्याउने आधार देखिँदैन। उनलाई केही रकम दिएर प्रयोग गरिएको हुनसक्छ। उनलाई त आफ्नो नाममा भएको कम्पनीको बारेमा सामान्य जानकारी समेत छैन,’ राजश्वका अर्का एक अधिकारीले भने, ‘ठूला व्यापारी पर्दापछाडि बसेर ती सामान्य व्यक्तिको नामको कम्पनी सुन कारोबारमा प्रयोग गरेको देखिन्छ।’

सुनको कारोबार खोज्दै राजस्वको टोली केही वित्तीय संस्थासम्म पनि पुगेको छ। 

‘पैसा कहाँ जेनेरेट भइरहेको छ र कहाँ गएको छ भन्ने कुरा पनि हामी केलाउँदैछौं। तर एउटा वित्तीय संस्था यसमा संलग्न रहेको प्रमाण नै हामीले फेला पारेका छौँ,’ राजश्वका अधिकारीले भने।

भन्सारकै कर्मचारीले म्यासेज पठाएपछि हङकङमै रोकियो अन्तिम खेप सुन
विमानस्थल भन्सार कार्यालयका कर्मचारी तस्करीमा प्रत्यक्ष संलग्न रहेको प्रमाणले पुष्टि गरिसकेको छ। एक्स रे मेसिनमा रहेका अधिकारीसहित तीन जना तस्करीको सुन छिराउन सहयोगी देखिएका छन्। जबकि उनीहरुलाई ब्रेक शुमा सुन ल्याइएको छ भन्ने सजिलै जानकारी हुनसक्थ्यो। 

भन्सारका अधिकारी नै भन्छन्, ‘उनीहरु पहिल्यै जानकार थिए भन्ने कुरा सीसीटीभी फुटेजबाट पनि पुष्टि भइसकेको छ। एक्स रे मेसिन हेर्ने कर्मचारीले त कति सुन छ भन्ने पनि सहजै अनुमान लगाउन सक्थे। तर उनले बिनाअवरोध सुन पास गराए।’

सीसीटीभी फुटेजमा भन्सारकै अर्का कर्मचारी भने अलिक अलमलमा परेको देखिएका छन्।

अनुसन्धान अधिकारी भन्छन्, ‘उनी चस्मा मिलाउँदै पल्टाइपल्टाइ सामान हेर्छन्। अनि पास गरिदिन्छन्। उनलाई पनि तस्करीको सामान आएको हो भन्ने जानकारी थियो, तर सुन नै आएको भन्ने प्रष्ट नभनिएको हुनसक्छ।’

जबकि १५५ किलो सुन व्यक्तिले बोक्न सक्ने कुरै थिएन। यहीँबाट सुन तस्करी भएको आशंका गर्ने ठाउँ थियो। भन्सारमा खाली ट्याक्सी जान पाउँदैन। तर प्रहरीले त्यो ट्याक्सीलाई भने सहजै प्रवेश दिएको छ।

ट्याक्सीमा सुन लोड गरेर चिनियाँ नागरिकको बालुवाटारस्थित गोदाममा लैजाँदै गर्दा विमानस्थल बाहिर राजस्वले पक्राउ गर्यो। सुन पक्राउ गरेको २ घण्टाभित्रै हङकङमा त्यो सूचना चुहिएपछि भोलिपल्ट अर्काे लट सुन नै नेपाल भित्रिएन र त्यहीँ रोकियो।

‘हङकङबाट थप सुन आउँदैछ भनेर हामीले एक दिन अप्रेसन होल्ड गर्यौँ। तर सूचना लिक भएछ। त्यो सामान आएन, सूचना चुहाउने पनि भन्सारकै कर्मचारी हुन्। उनीहरुले गरेका म्यासेज भेटिएका छन्,’ ती अधिकारीले भने।

टक्सारमा पुर्‍याएको सुन किन जोखिएन
राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन राष्ट्र बैंकको टक्सार महाशाखामा सिलबन्दी गरेर राखिएको छ। बरामद सुन कति छ भन्ने यकिन भइसकेको छैन। ब्रेक शु प्याकिङसहित जोख्दा १५५ किलो भएको छ। तर त्यसमध्ये सुन कति छ भन्ने छुट्टिएको छैन। करिब सय किलो सुन भएको राजस्वको अनुमान छ। 

सुन अझै केही समय नजोखिने राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले बताए। ढुंगानाका अनुसार पक्राउ परेका व्यक्तिहरुलाई उक्त सामान सनाखत गराइनेछ। उनीहरुले भन्सारबाट आएको सामान जस्ताको तस्तै नदेखाए उक्त वस्तु आफूले ल्याएको/पास गराएको बयानमा अस्वीकार गर्न सक्छन्। 

त्यही भएर बयान नहुन्जेल सुन गालेर जोखिने छैन।

‘सुन समातेपछि त्यो ल्याउने कार्यमा रहेका व्यक्तिहरुलाई कस्तो अवस्थाको सुन भित्रिएको हो, यसमा संलग्न व्यक्तिहरुबाट प्रमाणित गराउनुपर्ने हुन्छ र हामीले गालेको सुन देखायौँ भने उसले यो सामान मेरो होइन भन्न सक्छ। यही कारण केही समय होल्ड गरिएको हो,’ महानिर्देशक ढुंगानाले भने। 

अनुसन्धानमा प्रहरीको टोली नै 
राजस्व अनुसन्धान विभागले सुन बरामद गरेको झण्डै एक सातापछि अनुसन्धानमा प्रहरीलाई पनि सामेल गराएको छ। तर ढुंगानाले भने पहिल्यैबाट प्रहरीको पनि सहयोग लिइरहेको बताए।

‘व्यक्ति पक्राउमा हामीले पहिलेदेखि नै नेपाल प्रहरीको सहयोग लिएका थियौं। अहिले औपचारिक रुपमा प्रहरीको टिम हामीसँग सामेल भएको छ। जिम्मेवारी बाँडफाँट गरेर काम गरिरहेका छौँ,’ ढुंगानाले भने, ‘यो अहिलेसम्मकै ठूलो अनुसन्धान भएकाले यसमा हामीलाई प्रहरीको साथ चाहिन्छ।’

‘पहिलो, यसरी सुन नेपाल भित्र्याउने काम अवैध हो। यसमा संलग्नहरुको खोजी कार्यका लागि प्रहरीको सहयोग नभई हुँदैन, फरेन्सिक ल्याब उनीहरुकै छ, सीसीटीभी र सीडीआर (कल डिटेल रेकर्ड) हेर्न पनि प्रहरी नभई हुँदैन,’ ढुंगानाले भने। 

राजस्वले माग गरेपछि नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद पंगेनीको नेतृत्वमा टोली खटाएको छ। यस्तै सशस्त्र प्रहरी राजस्वमै रहन्छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .