ad ad

राजनीति


विश्वासको मत नदिएर प्रचण्डको हिसाब बिगार्ने यी हुन् दुई सांसद

जसपाका सातै सांसदले गरे मतदान
विश्वासको मत नदिएर प्रचण्डको हिसाब बिगार्ने यी हुन् दुई सांसद

सागर न्यौपाने
जेठ ७, २०८१ सोमबार १३:५७, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथोपटक विश्वासको मत पाएका छन्। सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले १५७ सांसदको समर्थन पाए।

सरकार टिकाउनका लागि यो संख्या पर्याप्त भए पनि प्रधानमन्त्री प्रचण्डले अपेक्षाअनुसारको मत भने पाएनन्। उनले यसपटक १५९ सांसदको समर्थन पाउने हिसाब गरेका थिए।

नेकपा माओवादी केन्द्रका एक पदाधिकारीले नेपालखबरसँग कुरा गर्दै तेस्रोपटकको भन्दा यसपटक विश्वासको मत दिने सांसद संख्या बढ्ने बताएका थिए।

माओवादीको विश्लेषण अनुसार, जनमत पार्टीको ६ र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट (जसपा) विभाजन भएर बनेको जनता समाजवादी पार्टीको ७ सांसद थपिने निश्चित थियो।

त्यसअनुसार एमाले ७५, (गम्भीर बिरामी वसन्त नेम्बाङ, निलम्बित सांसद टोपबहादुर रायमाझी र सभामुख देवराज घिमिरे मतदान प्रक्रियामा सहभागी हुन पाएनन्), माओवादी केन्द्र ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २१, नेकपा एकीकृत समाजवादी १०, जनमत पार्टी ६, नागरिक उन्मुक्ति पार्टी ४ र योगेन्द्र मण्डल, प्रभु साह र अमरेशकुमार सिंह गरी ३ जना स्वतन्त्र सांसदको मत प्रचण्डले पाउनुपर्ने हो।

त्यसो हुँदा १५९ सांसदको समर्थन प्रचण्डको पक्षमा जान्थ्यो। त्यही हिसाबमा ६८ दिनअघिको भन्दा यसपटक विश्वासको मत दिने संख्या बढ्ने बालुवाटारको अनुमान थियो।

सोमबारको प्रतिनिधि सभा बैठकमा एमाले उपाध्यक्षसमेत रहेका सांसद विष्णु पौडेलले पनि प्रचण्डको हिसाब बुझेरै पहिलाभन्दा धेरै मत पाउने ठोकुवा गरेका थिए। 

उनले प्रचण्डलाई मतदान हुनुअगावै बधाईसमेत दिन भ्याए। 

‘आज विश्वास अझ धेरै फराकिलो भएको छ। हिजो जति माननीयहरूको समर्थन थियो, त्यो समर्थन आज अझ धेरै फराकिलो भएको छ,’ उनको भनाइ थियो। 

‘तपाईँले हिजोभन्दा फराकिलो आधारमा विश्वासको मत प्राप्त गर्दै हुनुहुन्छ। सम्मानीय प्रधानमन्त्रीज्यू, तपाईँ दह्रो कदमका साथ अगाडि बढ्नुहोला,’ उनले भनेका छन्, ‘ सिंगो सदनको तपाईँलाई साथ हुनेछ। सिंगो राष्ट्रको साथ हुनेछ। आम नेपालीले साथ दिनेछन्। यो प्रतिनिधि सभाले निर्वाचित गरेको यो सरकारले पूरा कार्यकाल पूरा गर्नेछ।’ 

तर, सत्तापक्षले सोचेजस्तो भएन।

१५७ सांसदको मात्र प्रचण्डले समर्थन पाए। यसअघि गत फागुन ३० गते विश्वासको मत लिँदा पनि प्रधानमन्त्री प्रचण्डले १५७ जना सांसदकै समर्थन पाएका थिए।

प्रधानमन्त्रीसमेतले गरेको हिसाबमा दुईजना सांसद अनुपस्थित भएका छन्।

संसद सचिवालय स्रोतका अनुसार प्रचण्डलाई यसपटक एकीकृत समाजवादीका सांसद प्रकाश ज्वाला र नागरिक उन्मुक्तिका सांसद गंगाराम चौधरीको मत प्रधानमन्त्रीले पाएनन्। 

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ‘इफ, बट’ केही नभनी प्रधाानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने बताएका थिए।

उनकै पार्टीका उपमहासचिवसमेत रहेका सांसद ज्वाला भने सोमबारेको संसद बैठकमा अनुपस्थित रहे।

उता नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पूरै ४ जना सांसदको मत प्रचण्डलाई दिने बताएकी थिइन्।

उनले ह्विप नलगाए पनि प्रधानमन्त्रीका रूपमा प्रचण्डलाई सबै मत दिने दाबी गरेकी थिइन्। तर, उनको पार्टीका सांसद गंगाराम चौधरी अनुपस्थित भएका छन्।

उपेन्द्र यादवले सर्वोच्च अदालतमा रिट हालेर अशोक राई नेतृत्वको जसपालाई प्रधानमन्त्री प्रचण्डको पक्षमा विश्वासको मत दिन रोक्न आग्रह गरेका थिए। 

यादवले सभामुख देवराज घिमिरेलाई समेत पत्र पठाउँदै विश्वासको मत दिन नहुने भनेका थिए। 

तर, राई नेतृत्वको जसपाबाट सबै ७ सांसदको समर्थन प्रचण्डले पाए।

यसैगरी अघिल्लोपटक फागुन ३० मा विश्वासको मत नदिएको जनमत पार्टीले यसपालि प्रचण्डलाई समर्थन गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .