समाज


चारित्रिक प्रमाणपत्रका सबै काम अनलाइनबाटै गर्न परराष्ट्रमन्त्रीको निर्देशन

चारित्रिक प्रमाणपत्रका सबै काम अनलाइनबाटै गर्न परराष्ट्रमन्त्रीको निर्देशन

फाइल तस्बिर


नेपालखबर
साउन ८, २०८० सोमबार १३:५२, काठमाडौँ

परराष्ट्रमन्त्री एनपी साउदले मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागलाई प्रहरी चारित्रिक प्रमाणपत्र (पीसीसी) का सम्पूर्ण काम अनलाइनमार्फत् गर्न निर्देशन दिएका छन्। 

उनले विभागका महानिर्देशक प्रकाशमणि पौडेललाई १० दिनभित्रै प्रहरी चारित्रिक प्रमाणपत्रका सम्पूर्ण कामहरु अनलाइनमार्फत् गरिने व्यवस्था मिलाउन निर्देशन दिएका हु्न्। 

अहिले प्रहरी चारित्रिक प्रमाणपत्रका अन्य कामहरु अनलाइनमार्फत हुने भए पनि काउन्सलर विभागको छाप र प्रमाणीकरण गर्ने अधिकारीको हस्ताक्षरसहितको पत्र बुझ्न सेवाग्राही स्वयम् अथवा इच्छाएको व्यक्ति उपस्थित हुनै पर्ने बाध्यता छ। 

जसकारण राहदानी विभागमा सेवाग्राहीको भीड लाग्ने गरेको छ। राहदानी विभागमा देखिँदै आएको भीड न्यून गर्न र सेवाग्राहीले प्रहरी चारित्रिक प्रमाणपत्रको प्रमाणीकरणका लागि उपस्थित हुनुपर्ने बाध्यता हटाउन परराष्ट्रमन्त्री साउदले निर्देशन दिएका हुन्। 

मन्त्री साउदको निर्देशनअनुसार काउन्सलर सेवा विभागले प्रहरी चारित्रिक प्रमाणपत्रका सम्पूर्ण काम अनलाइनमार्फत गर्ने व्यवस्था गरेमा सेवाग्राहीले आफू वा आफूले इच्छाएको व्यक्ति त्रिपुरेश्वर जानुपर्ने बाध्यता हट्ने छ। 

कन्सुलर सेवालाई सरल, सहज, पारदर्शी र उत्तरदायी ढंगले सम्पादन गर्न सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ९ ले दिएको अधिकार प्रयोग गरी सरकारको २०७० वैशाख २० गतेको निर्णयअनुसार परराष्ट्र मन्त्रालयअन्तर्गत कन्सुलर सेवा विभागको स्थापना भएको हो।

विदेशका नेपालीहरुको हकहितको सुरक्षा, उद्धार, क्षतिपूर्तिको पहल, कन्सुलर प्रमाणीकरण, विदेशी नियोग तथा कूटनीतिक पदाधिकारीहरुलाई प्रदान गरिने सुविधा तथा उन्मुक्ति, सरकारको मनोनयनमा विदेश भ्रमण गर्ने पदाधिकारीहरुका लागि सम्बन्धित देशको प्रवेशाज्ञाका लागि सिफारिस गर्ने लगायतका कामहरु विभागबाट हुँदै आएका छन्। 

काउन्सलर सेवा विभागका महानिर्देशन पौडेलले अनलाइनमार्फत् कामहरु अघि बढाउनका लागि टिप्पणी उठाउने काम भइसकेको र मन्त्रीबाट स्वीकृत गराएर दुई साताभित्रै लागु गरिने बताएका छन्। 

‘पीसीसीका कामहरु अनलाइनमार्फत् नै हुँदै आएका थिए। अन्तिममा मात्रै हामीले बोलाएपछि सेवाग्राही आउनु पर्ने हुन्थ्यो। अब त्यो हट्छ,’ उनले भने, ‘अब थोरै कामहरु गर्नुपर्ने छ। टिप्पणी उठाउने काम भइसकेको छ। मन्त्रीज्यूबाट स्वीकृत गराएर १०–१५ दिनमा टुंग्याएर मिलाउँछौँ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad