समाज


डेङ्‌गु विरुद्धको अभियान पुनः सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

डेङ्‌गु विरुद्धको अभियान पुनः सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

नेपालखबर
असार २८, २०८० बिहिबार २१:१६, काठमाडौँ

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्‌गु सङ्क्रमण बढ्न थालेपछि डेङ्‌गु विरुद्धको अभियान सञ्चालन गर्न पुनःआग्रह गरेको छ।
    
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारी दैनिकजसो पानी परेसँगै डेङ्‌गुको सङ्क्रमण बढ्न थालेपछि सबै कर्मचारीलाई आफ्नो कार्यालय वरिपरि डेङ्‌गु विरुद्धको सरसफाइ अभियानमा सहभागी हुन आग्रह गरिएको जानकारी दिए।

उनका अनुसार मन्त्रालयले हरेक शुक्रबार बिहान साढे १० बजे सबै कर्मचारी सहभागी भई सरकारी तथा सार्वजनिक कार्यालय हाताभित्र र वरपर सरसफाइ अभियान सञ्चालन गरी लामखुट्टेको बासस्थान पत्ता लगाई नष्ट गर्न आग्रह गरिएको छ।

यस्तै, आमसर्वसाधारण, निजी क्षेत्र र सरोकारवाला सबै व्यक्ति एवं निकायले आआफ्नो स्थानमा सहभागिता, सहजीकरण एवं समन्वय जनाई डेङ्‌गु विरुद्धको अभियान सफल पार्न आग्रह गरिएको छ। 

नेपालमा पहिलो पटक सन् २००४ मा एक जनामा डेङ्‌गु देखिएको थियो। गएको पुसयता एक हजार तीन सय ३७ जनामा सङ्क्रमण छ भने एक जनाको निधन भइसकेको छ। मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ।

सम्भव भएसम्म लामखुट्ट नै भगाउने धूप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घरवरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन पनि मन्त्रालयले आग्रह गरेको छ। यसैगरी उपत्यकाका स्थानीय तहले साउनदेखि ‘लामुखट्टेको बासस्थान खोज र नष्ट गर’ अभियान सञ्चालन गर्ने भएका छन्।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले डेङ्‌गुका बिरामी बढ्न थालेपछि स्थानीय तह र सर्वसाधारणलाई पनि सरसफाइ गर्न आग्रह गरिएको जानकारी दिए। उनले पानी परेसँगै पानी जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्न थाल्ने भएकोले सरसफाइ अभियान सञ्चालन गर्न भनिएको बताए। 

डेङ्‌गु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्‌गु रोग लाग्दछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad