राजनीति


नेपाली सेनाको सङ्ख्या घटाउने सरकारको कुनै सोच छैन : उपप्रधानमन्त्री खड्का

नेपाली सेनाको सङ्ख्या घटाउने सरकारको कुनै सोच छैन : उपप्रधानमन्त्री खड्का

फाइल तस्बिर


नेपालखबर
असार २८, २०८० बिहिबार २१:२९, काठमाडौँ

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले हाल कायम रहेको नेपाली सेनाको सङ्ख्या घटाउने सन्दर्भमा नेपाल सरकारको कुनै पनि सोच नभएको बताएका छन्।

राष्ट्रियसभाको आजको बैठकमा बिनियोजन विधेयक, २०८० को छलफलका क्रममा सांसदहरुले उठाएका विभिन्न प्रश्नहरुको जवाफ दिने क्रममा उनले भने, mमुलुकको आवश्यकता, तत्कालीन परिस्थित, मुलुक र अन्तर्राष्ट्रिय परिवेशका आधारमा नेपाली सेनाको सङ्ख्या निर्धारण भएको हो। भविष्यमा पनि सोही सिद्धान्तका आधारमा सङ्ख्या निर्धारण हुनेछ।’

रक्षामन्त्री खड्काले हाल नेपाली सेना विभिन्न काममा पूर्णरुपमा जिम्मेवारीका साथ सक्रियरुपमा लागेको स्पष्ट पारे। नेपाली सेनाको सङ्ख्यालाई उच्चतम उपयोग गरी मुलुकको विकास र उन्नती तथा प्रगतिमा खटाइएको उनको भनाइ छ। 

‘नेपाली सेना, संविधान, प्रचलित कानून तथा अन्तर्राष्ट्रिय मापदण्ण्ड अनुरुप सीमा सुरक्षा एवम् भौगोलिक अखण्डता रक्षाका कार्यमा सदैव क्रियाशिल रहेको प्रति सबैलाई अनुरोध गर्न चाहन्छु’, उनले भने, ‘कुनै पनि देशको सेनाको सङ्ख्या उक्त देशको भौगोलिक अवस्था, राष्ट्रिय आवश्यकता र अन्तर्राष्ट्रिय परिवेश र समय–समयमा मुलुकको आवश्यकता अनुसार निर्धारण हुने गर्छ।’

उनले नेपाली सेनाको सङ्ख्या राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसमा नेपाल सरकारको निर्णय बमोजिम निर्धारण हुने समेत स्पष्ट पारे। साथै नेपाली सेनाले संविधान तथा अन्य कानूनले दिएको जिम्मेवारी,  सरकारले समय–समयमा दिने जिम्मेवारी, अन्तर्राष्ट्रिय स्तरमा शान्ति स्थापनाका गर्ने कार्यलगायत विभिन्न जिम्मेवारीका पनि प्रभावकारी र जिम्मेवारपूर्वक निर्वाह गरेको बताए। 

‘सृष्टि रहेसम्म हाम्रो देश रहन्छ। त्यो बेलासम्म हाम्रो मुलुकको रक्षाका लागि, भौलोगिक अखण्डताका लागि, सीमा रक्षाका लागि नेपालीसँगै नेपाली सेना पूर्णरुपमा प्रतिबद्ध छ। प्रतिकुल अवस्थालाई अनुकुलतामा परिणत गर्दै नेपाली सेनाले आफ्नो भूमिका अत्यन्तै अनुशासित रुपमा निर्वाह गर्दैै आएको छ,’ उनले भने।

उनले हाल नेपाली सेनाको दरबन्दी दरबन्दी ९६ हजार चार सय ७७ भए पनि हाल ८१ हजार दुई सय ७७ सङ्ख्या कायम भएको बताए। जसमध्ये ७४ हजार पाँच सय पाँच पुरुष र छ हजार सात सय ७२ महिला रहेको उनको भनाइ छ। 

हाल कायम रहेको नेपाली सेनालाई दुई वटा प्रमुख काममा जिम्मेवारी दिइएको उनले सुनाए। 

४० हजार दुई सय ७ जनालाई शान्ति सेना, विभिन्न तालिम प्रदान, विपद् व्यवस्थापन तथा र विकास निर्माणका क्षेत्रमा खटाइएको र बाँकी ४१ हजार ७० जनालाई सञ्चालन र ड्युटीलगायतमा खटाइएको उनले बताए।

उनले नेपाली सेनालाई भौतिक पूर्वाधार निर्माण, वातावरण तथा प्रकृति संरक्षण र विपद् व्यवस्थापनमा पनि खटाइएको बताए। 

अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि पनि नेपाली सेनाले प्रमुख भूमिका खेलेको उनको भनाइ छ। 

‘नेपाली सेना विश्वका कुनै पनि भागमा संयुक्त राष्ट्र सङ्घको छातामुनी रहेर द्वन्द्वरत मुलुकमा शान्ति स्थापनाका लागि निकै ठूलो भूमिका निर्वाह  गरेको छ’, उनले भने, ‘शान्ति स्थापना भएका देशमा नेपाली सेनाप्रति त्यहाँका जनताले देखाएको विश्वास र अपनत्व गौरव गर्न लायक छ, यसको मनोवैज्ञानिक प्रभाव विश्वभर परेको छ।’ 

रक्षामन्त्री खड्काले नेपाली सेना विश्वमा शान्ति स्थापनाका दृष्टिले संख्याका रुपमा दोस्रो र प्रभावकारीताका हिसाबले अब्बल रहेको बताए।

उनले सेनाको व्यवस्थापनका सन्दर्भमा बङ्करबाट ब्यारेकसम्म अभियान अन्तर्गत हालसम्म पाँच हजार आठ सय ५० ब्यारेक निर्माण गर्नुपर्नेमा तीन हजार सात सय २२ ब्यारेक निर्माण भइरहेको बताए। उनले यसका लागि आगामी आवमा रु दुई अर्बको हाराहारीमा बजेट बिनियोजन गरिएको समेत बताए।

रक्षामन्त्री खड्काले तराई मधेस दु्रतमार्ग निर्माणको जिम्मेवारी नेपाली सेनाले पाएको उल्लेख गर्दै २०८३ चैत मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढेको बताए। ‘कोरोना महामारीलगायतका कारण फास्ट ट्रयाक निर्माणमा ढिलाइ भएको हो, अहिलो निर्माण तीव्र गतिमा अगाडि बढाइएको छ, २०८३ चैत मसान्तभित्र सम्पन्न गर्ने गरी काम भइरहेको छ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad