चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको अवधिमा काठमाडौं महानगरपलिकामा तीन सय ९९ विपद्का घटना घटेका छन्। यसमा सबैभन्दा धेरै आगलागीका घटना रहेको कामपाले जानाएको छ। ती घटनामध्ये १६२ आगलागीका घटना भएको कामपा विपद् व्यवस्थापन विभागका नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले जानकारी दिए।
उनका अनुसार ग्यास चुहावट भएर र बत्तीको पोलमा हुने आगलागीका घटना बढी छ। त्यसैगरी विद्युत् चुहावट भएर १०८, जल उत्पन्न प्रकोपको कारण २३, अन्य विविध विपद्का १०६ घटना घटेको बताइएको छ।
विगतको वर्षहरुमा भन्दा यस वर्ष विपद्को घटना बढ्ने अनुमान कामपाले गरेको छ। गत आर्थिक वर्षमा विभिन्न प्रकारका गरी ३५५ विपद्का मात्र घटना घटेका थिए। यसरी बत्तीको पोलमा हुने आगलागीका घटना विभिन्न इन्टरनेट सेवा प्रदायक संस्थाले अस्तव्यस्त रुपमा राखेको तारको कारणले हुने गरेको कामपाको ठहर छ।
त्यसैगरी जीर्ण खाना पकाउने ग्यास सिलिन्डरको प्रयोग, ग्यास पाइप र रेगुलेटरको नियमित परीक्षण नगर्दा र वार्षिक रुपमा नफेर्दा आगोजन्य विपद्का घटना बढिरहेको उपरीक्षक जोशीको भनाइ छ। कामपाले आगामी आर्थिक वर्षको लागि विपद् व्यवस्थापनमा प्रयोग हुने उपकरण खरिद गर्नका लागि रु तीन करोड ५० लाख विनियोजन गरेको छ।
आगामी आवकै लागि कामपाले विभिन्न स्थानमा वर्षद्को समयमा हुने डुबान न्यूनीकरणका लागि ‘डुबान समाधान’ स्वर्णिम कार्यक्रममार्फत खर्च गर्न सक्नेगरी रु चार करोड रकम छुट्याइएको छ। केहीवर्ष अघिसम्म ढलमा परेर बालबालिकोको ज्यानैसम्म जाने गरेको उल्लेख गर्दै उपरीक्षक जोशीले अहिले ढलको कारण खासै समस्या नभएको बताए।
विपद्का घटना बढ्न थालेपछि कामपाले यसको नियन्त्रणका कृत्रिम अभ्यास र सर्वसाधारणको लागि जनचेतनाका कार्यक्रमसमेत गर्न थालेको छ। कृत्रिम अभ्यास अन्तर्गत सुरक्षित तवरबाट आगो कसरी निभाउने, सडक दुर्घटना भएको समयमा घाइतेलाई तत्काल अस्पतालसम्म कसरी लैजाने जस्ता विषय रहेका बताइएको छ। रासस
Shares

प्रतिक्रिया