संयुक्त राष्ट्रसंघका उपमहासचिव जीन पेरी ल्याक्रोइस चार दिवसीय नेपाल भ्रमण सम्पन्न गरी फर्किएका छन्।
उनलाई नेपाली सेनाका निरीक्षणाधिकृत उपरथी योगराज शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे।
यसअघि जङ्गी अड्डामा भएको कार्यक्रममा रक्षा मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, नेपाली सेनाका रथीवृन्द तथा अधिकृत, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका प्रतिनिधि, त्रिभुवन विश्वविद्यालयका मास्टर्स इन इन्टरनेसल रिलेसनमा अध्ययनरत शिक्षार्थीहरु लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा उपमहासचिव ल्याक्रोइसले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का जिम्मेवारी, शान्ति स्थापना कार्य, यसका चुनौती र संभावनाहरुका बारेमा मन्तव्य राखे।
उपमहासचिवले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्बाट नेपालको विश्व शान्ति प्रतिको प्रतिवद्धता तथा नेपाली शान्ति सैनिकहरुले पुर्याएको योगदानको सदैव उच्च प्रशंसा हुँदै आएको बताए।
उनले नेपाली शान्ति सैनिकहरु कुनैपनि पूर्व शर्त विना आफु तैनाथ मिशन ईलाकामा आइपर्ने जस्तोसुकै जटिल परिस्थितिमा पनि परिचालित भई मिशन म्यान्डेट पूरा गर्न सक्रिय हुने गरेको उल्लेख गर्दै नेपाल तथा नेपाली शान्ति सैनिकहरुबाट भविष्यमा समेत यस्तै सहयोगको निरन्तरताको अपेक्षा गरे।
सोही क्रममा उपमहासचिवले विगतमा शान्ति सेनामा तैनाथ भइसकेका र निकट भविष्यमा शान्ति सेनामा सहभागी हुने तयारीमा रहेका महिला सैनिक तथा प्रहरीहरुसँग बेग्लै अन्तरक्रिया गर्दै शान्ति स्थापनार्थ तैनाथ हुने महिलाहरुको समस्या समाधानमा संयुक्त राष्ट्रसंघको चासो रहेको बताएका थिए।
नेपाल भ्रमणमा रहँदा उपमहासचिव ल्याक्रोइसले उच्चस्तरीय महत्वपूर्ण भेटघाटहरु गर्नुका साथै भगवान बुद्धको जन्मस्थल लुम्बिनी तथा काठमाडौंका पर्यटकीय स्थलहरुको भ्रमण गरेका थिए।
उनले मिति २०८० आषाढ १४ गते बारास्थित नेपाली सेनाको शान्ति कार्य लजिष्टिक वेशको भ्रमण गरे। उक्त लजिष्टिक वेश नेपाली शान्ति सैनिकहरु शान्ति स्थापनार्थ तैनाथ हुने क्रममा आवश्यक बन्दोवस्तीका सामग्रीहरु तयारी गर्न र बन्दोवस्ती सम्बन्धी तालिमका लागि निर्माण गरिएको हो।
गत ज्येठ ३० गतेदेखि असार १ गतेसम्म आयोजित पार्टनरसिप फर टेक्नोलोजी इन पिस किपिङ अन्तर्राष्ट्रिय संगोष्ठीका दौरान संयुक्त राष्ट्रसंघको डिपार्टमेन्ट अफ सपोर्टका उपमहासचिव अतुल खरे लगायतका वरिष्ठ अधिकारीहरुले नेपालको भ्रमण गरेका थिए।
यस प्रकारका भ्रमणले नेपालको विश्व शान्ति प्रतिको प्रतिवद्धता माथि संयुक्त राष्ट्रसंघको उच्चस्तरीय भरोसा प्रतिविम्वित हुन पुगेको विश्वास नेपाली सेनाले लिएको छ।
Shares

प्रतिक्रिया