देशका केही स्थानमा वर्षा भइरहेकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सुझाव दिएको छ।
महाशाखाका अनुसार आज राति (शुक्रबार साँझ ६ बजेदेखि शनिबार बिहान ६ बजेसम्म) देशभर वर्षा हुने सम्भावना छ।
महाशाखाले भनेको छ– ‘गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।’
साथै राति गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। यसका साथै आज राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही तथा बाँकी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले आगामी २४ घण्टा (शनिबार साँझ ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ– ‘गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही तथा बाँकी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेकाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्र प्रभावित हुनसक्ने देखिन्छ। तसर्थ भारी वर्षा, मेघगर्जन/चट्याङ, हावाहुरी, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’
मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई हल्का वर्षा, १० मिलिमिटरदेखि माथि ५० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई मध्यम वर्षा तथा ५० भन्दा माथि सय मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई भारी वर्षा भनिन्छ। यस्तै सय मिलिमिटरभन्दा माथि र दुई सयभन्दा मुनि मिलिमिटर पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ।
Shares

प्रतिक्रिया