ad ad

समाज


पशुपतिमा अख्तियारको टोली, अन्य सबैलाई निकालेर चारै ढोका बन्द गरियो

पशुपतिमा अख्तियारको टोली, अन्य सबैलाई निकालेर चारै ढोका बन्द गरियो

बन्द गरिएको पशुपतिनाथको प्रवेशद्वार। तस्बिर : सरोज बैजु


नेपालखबर
असार १०, २०८० आइतबार १५:४०, काठमाडौँ

जलहरी प्रकरणको छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली आइतबार अपरान्ह पशुपतिनाथको मन्दिर परिसरमा पुग्दै छ।

अख्तियारको टोली छानबिनका लागि आउने भएपछि पशुपतिनाथ मन्दिर परिसर खाली गरिएको छ।

दर्शन गर्न पुगेका सबैलाई निकालेर खाली गरिएपछि अहिले अख्तियारको टोली त्यहाँ पुग्दैछ। अहिले पशुपतिनाथका सबै चार ढोका बन्द गरिएको छ। 

पशुपति क्षेत्र खाली गरिएपछि अहिले ४ बजे अख्तियारको टोली पुग्ने बताइएको छ। 

पशुपतिनाथस्थित शिवलिङ्गको गर्भगृहलाई पूर्ण रुपमा ढाक्ने गरी सुनको जलहरी राख्दा भएको आम्दानी र खर्च विवरणबारे महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएपछि संसदमा पनि प्रवेश गरेको थियो। 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालमा १०७ केजी ९२४.७४ ग्राम सुन प्रयोग गरी बनाइएको भनिएको उक्त जलहरीलाई लिएर गत जेठमा संसद् विवाद हुँदा महालेखाले दुई वर्षअघि नै प्रश्न उठाएको थियो। 

महालेखाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत ४२ र ४३ नम्बर बुँदामा जलहरी निर्माणका क्रममा बाँकी भएको १० केजी ९७६ ग्राम सुनको हिसाब नभेटिएको जनाएको थियो। 

‘सुनको जलहरी निर्माण-पशुपति शिवलिङ्गको गर्भगृहलाई पूर्ण रूपमा ढाक्ने गरी राखिने सुनको जलहरी निर्माण कार्यको लागि यो वर्ष नेपाल राष्ट्र बैङ्कबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड ११ हजारमा खरिद गरेको छ’, प्रतिवेदनमा भनिएको छ,  ‘विभिन्न शुद्धताको प्रतिशत रहेको सुनमा अन्य धातु र रसायनको मिश्रण तामा २ किलो ८९० ग्राम, चाँदी १ किलो २४९ ग्राम, जिङ्क १२.७५ ग्रामसमेत प्रयोग गरी १०७ किलो ९२४.७५ ग्राम सुन कायम भएको उल्लेख छ।’

महालेखका अनुसार निर्मित जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किलालगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ८२२ ग्राम रहेको थियो।

यसलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपतिनाथ मन्दिरमा जलहरीमा राख्ने सुनमा भ्रष्टाचार भएको भनिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको बताएका थिए। 

दाहालले पशुपतिनाथमा जलहरी राख्ने क्रममा भएको अनियमितताको अख्तियारले स्वतन्त्र र निष्पक्ष छानबिन गर्ने बताएका थिए। 

उनले पशुपति विकास कोषससँग सम्बन्धित उक्त विषयको छानबिनमा सरकारले सघाउने पनि बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .