समाज


फेरि भित्रिँदै शक्तिशाली प्रणाली, भारी हिमपात र ठूलो वर्षाको सम्भावना

फेरि भित्रिँदै शक्तिशाली प्रणाली, भारी हिमपात र ठूलो वर्षाको सम्भावना

नेपालखबर
माघ १, २०७६ बुधबार १:२२,

भारी हिमपात र वर्षा गराउने शक्तिशाली मौसमी प्रणाली आज (बुधबार) नेपालमा प्रवेश गर्ने मौसमविद्ले जानकारी दिएका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार साँझ देशको पश्चिमी क्षेत्रबाट पश्चिमी न्यून चापीय प्रणाली प्रवेश गर्ने भएको हो। जसका कारण आजै रातिदेखि पश्चिमी क्षेत्रमा सामान्य बदली रही थोरै स्थानमा हल्का वर्षा एवं उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा हिमपात सुरु हुने सम्भावना छ।

भोलि (बिहीबार)बाट भने यसको प्रभाव देशभरि नै फैलिने मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्।

‘यो अलि बलियै खालको प्रणाली हो,’ बुधबार बिहान मौसमविद् नगरकोटीले नेपालखबरसँग भनिन्, ‘यसले देशका उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपात गराउनाका साथै अन्य स्थानमा वर्षा गराउने सम्भावना छ।’

महाशाखाले विशेष बुलेटिन जारी गर्दै भनेको छ : यस प्रणालीको प्रभाव देशभर शुक्रबारसम्म नै रहने र शुक्रबारसमेत वर्षा र हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

मौसमविद्का अनुसार बिहीबार देशको मध्य तथा पश्चिमी क्षेत्रमा सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात तथा थोरै स्थानमा भारी हिमपातको सम्भावना छ। साथै मध्य तथा पश्चिमी पहाडी तथा तराईका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा र सोही भूभागका १-२ स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

बिहीबार देशको पूर्वी भूभागमा पनि आंशिकदेखि सामान्यसम्म बदली भई १-२ स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ।

आजको मौसमी अवस्था
यतिबेला (बुधबार बिहान) देशको पूरै तराई क्षेत्र बाक्लो हुस्सु/कुहिरोले ढाकेको छ। साथै काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रमा पनि सामान्य कुहिरो देखिएको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्।

‘पहाडी क्षेत्रमा लागेको कुहिरो घाम लागेसँगै हट्नेछ तर तराईमा अपराह्नपछि मात्र हट्ने देखिन्छ,’ उनले भनिन्।

हुस्सु/कुहिरोका कारण चिसो बढ्दा तराईको जनजीवन कष्टकर भएको छ।

मौसमविद् नगरकोटीका अनुसार बुधबार राति पश्चिमी न्यून चापीय प्रणाली प्रवेश गर्ने र बिहीबारदेखि यसको प्रभाव देशभर फैलिने भएकाले भोलिदेखि भने तराईमा हुस्सु/कुहिरो लाग्ने छैन।

आगामी तीन दिनको मौसम पूर्वानुमान 
माघ १ गते (बुधबार)
दिउँसो
: देशको पूर्वी तथा पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राति : पश्चिमी भूभागमा सामान्य बदली रही अन्य भूभागमा आंशिक बदली रहनेछ। पश्चिमी भूभागका थोरै स्थानमा हल्का वर्षाका साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का  हिमपातको सम्भावना छ।

माघ २ गते (बिहीबार)
दिउँसो
 : देशको मध्य तथा पश्चिमी भूभागमा सामान्य बदली भई पूर्वी भूभागमा आंशिक बदली रहनेछ। मध्य तथा पश्चिमी  भूभागका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाका साथै पश्चिमी तथा मध्य उच्च पहाडीरहिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना छ।

राति : देशको मध्य तथा पश्चिमी भूभागमा सामान्यदेखि पूर्णसम्म बदली रही पूर्वी भूभागमा आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। मध्य तथा पश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै पूर्वी पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाकाे सम्भावना छ।उच्च पहाडी/हिमाली भेगका धेरैजसो स्थानमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना छ। मध्य तथा पश्चिमी उच्च पहाडी/हिमाली भेगका केही स्थानमा भारी हिमपातको सम्भावना छ।

माघ ३ गते (शुक्रबार)
दिउँसो 
: देशको मध्य तथा पूर्वी भूभागमा सामान्यदेखि पूर्णसम्म बदली रहनेछ साथै पश्चिमी भूभागमा आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। उच्च पहाडीरहिमाली भेगका धेरैजसो स्थानमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना छ। मध्य तथा पूर्वी उच्च पहाडीरहिमाली भेगका केही स्थानमा भारी हिमपातको सम्भावना छ।

राति : देशभरी आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। देशका थोरै स्थानमा हल्का वर्षा साथै उच्च पहाडी/हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। 

स्राेत : जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad