ad ad

समाज


प्रहरी हवल्दार मृत्यु प्रकरणः छानबिन टोली घटनास्थलमा

प्रहरी हवल्दार मृत्यु प्रकरणः छानबिन टोली घटनास्थलमा

नेपालखबर
पुस २९, २०७६ मंगलबार १०:४७,

जाजरकोटको दल्लीस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार आत्महत्या घटनाको विशेषमा अनुसन्धान गर्न सुर्खेतबाट प्रहरी उपरीक्षक (एसपी) सञ्जीव शर्मा दास नेतृत्वको छानबिन टोली आज त्यहाँ गएको छ।

यही पुस २७ गते नलगाड नगरपालिका–७ दल्लीमा कार्यरत ३५ वर्षीय भोजबहादुर कठायतले आत्महत्या गरेको घटना बाहिर आएको थियो। यद्यपि मृतक कठायतका धर्मपत्नी निशा खत्री कठायतले आत्महत्या नभएको भन्दै शव बुझ्न नमानेपछि घटना रहस्यमय बन्दै गएको हो। मृतक कठायतको मृत्यु शंकास्पद भएको भन्दै प्रहरी प्रशासनलाई छानबिन तथा अनुसन्धानका लागि अनुरोध गरिएको बताइएको छ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पूर्णचन्द्र जोशीले घटनाको विशेष छानबिनका लागि प्रहरी उपरीक्षक दास नेतृत्वको तीन सदस्यीय छानबिन टोली गठन गरी अनुसन्धान तथा छानबिनका लागि आज बिहान जाजरकोट पठाइएको जानकारी दिए। ‘टोलीले घटनाबारे छानबिन गर्नेछ,’ उनले भने, ‘पाँच दिनभित्र त्यसको प्रतिवेदन टोलीले पेश गर्न निर्देशन दिइएको छ।’

जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले मृतकको शव आज परिवारलाई बुझाउने तयारी भएको बताए। उनका अनुसार प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी उपरीक्षक नेतृत्वको उच्चस्तरीय छानबिन टोलीले छानबिन अगाडि बढाएको छ।

प्रदेश प्रहरी कार्यालयबाट गठित प्रहरी उपरीक्षक दास नेतृत्वको टोली र जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठसहित घटनास्थल दल्ली पुगिसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी महेशकुमार आचार्यले जानकारी दिए। सूचना अधिकारी आचार्यका अनुसार मृतकको शव जाजरकोट अस्पतालमा राखिएको र शव परीक्षण गरिएको छैन।

पीडित परिवारले भने तीन दिन भइसक्दा पनि प्रहरी प्रशासनले शव बुझाउन कुनै चासो नदेखाएको आरोप लगाएका छन्। बाजुरा घर भई हाल नेपालगञ्ज बस्दै आएका कठायत चार महिनादेखि घुमुवा प्रहरीका रुपमा त्यहाँ काम गर्दै आएका जनाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .