समाज


४० किलोमिटर पर कोकाहाको पानी धरानमा झारेपछि रोए हर्क साम्पाङ

४० किलोमिटर पर कोकाहाको पानी धरानमा झारेपछि रोए हर्क साम्पाङ

धरानमा कोकाहाको पानी झारेपछि भावुक मेयर साम्पाङ


नेपालखबर
जेठ ३०, २०८० मंगलबार ११:५८, काठमाडौँ

१३ महिनाअघि भएको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्म्दवार हर्क साम्पाङको एउटै नारा थियो काकाकुल धरानबासीलाई पानी खुवाउने।

उनले यो नारालाई विस्तारै सार्थक बनाउँदै लगेका छन्। कांग्रेस, एमाले र माओवादीबाट निर्वाचित वडाध्यक्षहरुसँग अझै राम्रो सम्बन्ध बनाउन नसकेका उनले श्रमदान अभियानबाटै ४० किलोमिटर परस्थित बराहक्षेत्र नगरपालिकास्थित कोकाहा खोलाको पानी सोमबार राति धरानमा झार्न सफल भएका हुन्। 

सोमबार राति १२ बजे कोकाहाको पानी धरान उपमहानगरपालिका-२० स्थित पकुवा खोलामा झर्दा मेयर आफैं त्यहाँ पुगेका थिए। 

मेयर साम्पाङकै योजनामा बनेको साबुन उद्योग निर्माणस्थलनजिकैको पकुवा खोलास्थित वास आउट प्वाइन्टमा पानी खसेको हो। मध्यराति कोकाहाको पानी वास आउन प्वाइन्टमा खसेसँगै मेयर साम्पाङ खुसीले रोएका थिए। 

कोकाहाको पानी धरानमा झरेपछि हर्षविभोर भएर रोएका मेयर साम्पाङले त्यही पानीले नुहाए। आफूलाई श्रमदानमा सघाउनेहरुसँगै मध्यराति पुगेका उनी रातदिन श्रमको मैदानमा छन्। 

उनी कोकाहाको पानी धरानमा नझारी घर नफर्किने भन्दै आइतबारदेखि धरानको पटनालीमा सुतेका थिए। त्यसपछि सोमबार दिउँसो र रातिसम्म पाइपबाट हावा निकाल्ने काममा उनी सक्रिय थिए। 

दिनरातको मिहिनेतपछि कोकाहाको पानी राति १२ बजे धरानमा खस्यो। मेयर त्यसको आधा घण्टापछि पकुवामा पुगेका थिए।

कोकाहाको पानी खसेको देखेपछि उनी भावुक भएर रोए। त्यहाँ उनले आफूलाई विश्वास गरेर रातदिन साथ दिनेहरुलाई धन्यवाद पनि दिए। मेयर साम्पाङसँगै उपमेयर आइन्द्रविक्रम बेघा पनि साथमा थिए। उनले पनि धरानले इतिहास बनाउन सफल भएको बताए। 

कोकाहा खोलाको पानी बराहक्षेत्रको ४० किलोमिटर छिचोलेर धरान २० स्थित हात्तीसारमा झारिँदैछ। कोकाहाको पानी धरान ल्याउन करिब ४ करोड रुपैयाँ, पाइप र अन्य जिन्सी सामान सहयोग जुटेको थियो। 

यसबीचमा समन्वय नगरेको भन्दै दलका नेता कार्यकर्ता, वडाध्य र अरुले आलोचना गरिररहेका छन्। तर उनले श्रम अभियान चलाएरै धरानमा पानी ल्याउन सफल भए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad