समाज


जब न्यायाधीशले इजलासबाट डीएसपीलाई भने : फेरि गुनासो आयो भने राम्रो हुँदैन

जब न्यायाधीशले इजलासबाट डीएसपीलाई भने : फेरि गुनासो आयो भने राम्रो हुँदैन

फाइल तस्बिर


नेपालखबर
जेठ २९, २०८० सोमबार १४:३०, काठमाडौँ

नक्कली शरणार्थी प्रकरणमा मुछिएर विभिन्न मितिमा पक्राउ परेका अभियुक्तहरुले आफूहरुप्रति प्रहरीको व्यवहारलाई लिएर न्यायाधीशसमक्ष निरन्तर गुनासो गरिरहेका छन्।

खासगरी जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएका अभियुक्तहरुले आफूहरुलाई अमानवीय व्यवहार भएको र सुत्न नदिएको पनि गुनासो न्यायाधीशसमक्ष राखिरहेका छन्।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजालसमा पुगेर आइतबार पनि प्रतिवादीहरुले प्रहरीको व्यवहारबारे गुनासो गरे।

आइतबार अभियुक्ताहरु शमशेर मियाँ र टेकनाथ रिजालसहितले प्रहरीको अपमानजनक व्यवहारको गुनासो न्यायाधीलाई राखेका थिए।

सोमबार गुनासो राख्नेमध्ये एकजना हज कमिटीका अध्यक्ष मियाँ इजलासमै निदाइदिए। परिसरमा सुत्न नपाएको गुनासो गरेका उनी सोमबार ११ बजेदेखि १ बजेसम्म इजलासमै सुतेका हुन्।

आइतबार हज कमिटीका अध्यक्ष मियाँले आफूहरुलाई टेकुबाट दरबारमार्गको हिरासतमै सार्न माग गरेका थिए। 

त्यही विषयमा आइतबारै न्यायाधीश न्यौपानेले परिसरका डीएसपी पवन भट्टराईलाई यसबारे जिज्ञासा राख्न खोजेका थिए। तर भट्टराई इजलासबाट निस्किसकेकाले आइतबार त्यो सम्भव भएन।

सोमबार भने न्यायाधीश न्यौपानेले डीएसपी भट्टराईलाई इजलासमै बोलाएर अभियुक्तहरुमाथि अब पनि सम्मानजनक व्यवहार नभए राम्रो नहुने चेतावनी दिए।

उनले प्रतिवादीहरुको गुनासोको विषयमा भट्टराईलाई सोध्दै सबैलाई सम्मानजनक व्यवहार गर्न भने। 

‘उहाँ नमाज पढ्नु हुन्छ। आफ्नो धर्म संस्कार र संस्कृति त मान्न पाउनुपर्यो नि’, मियाँको गुनासोबारे न्यौपानेले डीएसपी भट्टराईलाई इजलासमै बोलाएर भने।

न्यायाधीश न्यौपाने त्यतिमै रोकिएनन्। उनले अभियोग लाग्दैमा कसैमाथि अपमानजनक व्यवहार गर्न नहुने भनेर प्रहरीलाई सचेत पनि गराए।

‘मान्छे त मान्छे त हो नि, फरक त्यति हो उहाँहरुलाई अभियोग लागेको छ हामीलाई छैन’, उनले भने, ‘उहाँहरु वृद्ध शरीरको रोगी पनि हुनु हुन्छ। यसरी मकहाँ गुनासो नआओस्। फेरि यस्तो आयो भने राम्रो हुँदैन।’

त्यसपछि डीएसपी भट्टराईले न्यायाधीश न्यौपानेसमक्ष आफूहरुले अभियुक्तहरुलाई सकेसम्म हेरिरहेकोजवाफ दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .