समाज


सुदखोर रामबाबु रायको घरमा प्रहरीको छापा

 सुदखोर रामबाबु रायको घरमा प्रहरीको छापा

नेपालखबर
पुस २९, २०७६ मंगलबार २:२३,

सर्लाहीका कुख्यात सुदखोर रामबाबु राय यादवको घरमा प्रहरीले छापा मारेको छ।

ऋण लगानी गर्दा ठगी गरेको आरोपमा २३ पुसमा पक्राउ परेका यादवको बरहथवा नगरपालिका १० सीतापुरस्थित घरमा प्रहरीले सोमबार छापा मारेको हो।

त्यसक्रममा यादवको घरबाट महत्वपूर्ण कागजात बरामद गरिएको सर्लाहीका एसपी विश्वमणि पोखरेलले जानकारी दिए।

‘यादवको घरमा छापा मारेर कपाली तमसुक, चेक, विभिन्न व्यक्तिलाई ऋण प्रवाह गर्दा बनाइएका काजगात बरामद गरेका छौँ,’ एसपी पोखरेलले नेपालखबरसँग भने, ‘बरामद कागजातले उनीमाथिको अनुसन्धानलाई थप सहयोग पुर्याउँछ।’

जिल्ला प्रहरी कार्यालय मलंगवाका मुद्दा फाँटका इन्सपेक्टर उमाशङ्कर गुप्ता र ईलाका प्रहरी कार्यालय बरहथवाका इन्सपेक्टर राजेन्द्र यादवको नेतृत्वमा गएको प्रहरी टोलीले यादवको घर खानतलासी गरेको हो।

यादव र सञ्जय रौनियारले मिटर व्याजको माध्यमबाट ठगी गरेको भन्दै पीडितले गत हप्ता गृहमन्त्रालयमा आएर आफ्ना गुनासो सुनाएपछि प्रहरीले यादवलाई पक्राउ गरेको हो।

प्रहरीले खोजी गरेपछि रौनियार भने फरार छन्। उनी भारतमा लुकेर बसेको अनुमान प्रहरीले गरेको छ।

यादवविरुद्ध जिल्ला अदालतबाट प्रहरीले १० दिनको म्याद लिएर अनुसन्धान गरिरहेको एसपी पोखरेलले बताए। ‘सञ्जय रौनियार फरार छन्, उनको पनि खोजी भइरहेको छ,’ एसपी पोखरेलले भने। अहिलेसम्म यादवविरुद्ध पाँच र रौनियार विरुद्ध चार उजुरी परेका छन्।

यादव र रौनियारले ऋण प्रवाह गर्दा दिएको रकम भन्दा कयौँ गुणा बढीको कागज बनाई उठिवास लगाएको भन्दै पीडितले छानविन गरी कारबाहीको गर्न माग गर्दै उजुरी गरेका छन्।

यादव राष्ट्रिय जनता पार्टी (राजपा) का केन्द्रीय सदस्य हुन्। रौनियार बाबुराम भट्टराई नेतृत्वको तत्कालिन नयाँ शक्ति पार्टीका नेता हुन्।

रौनियारको सर्लाही, महोत्तरी, धनुषा, रौतहट लगायतका जिल्लामा ७/८ अर्बको कारोबार रहेको अनुमान छ। यादव को ३ अर्ब भन्दा बढीको कारोबार छ।

पीडितको पक्षमा पैरवी गर्दै आएका नेकपा सर्लाहीका नेता कमल बुढाथोकीले यादव र रौनियारबाट झण्डै १२ सय परिवार पीडित रहेका बताए।

‘यादव र रौनियारले ठगी गरेको प्रमाण पुर्याउन पीडितलाई समय लागेकाले उजुरी कम परेको हो,’ अब उजुरीको संख्या बढ्छ,’ बुढाथोकीले भने।

यादवले प्रवाह गरेको ऋणको कारण साविक मुर्तियाको एउटा माझी बस्ती नै बिस्थापित भएको बुढाथोकीले बताए। ‘यादवले प्रवाह गरेको मिटर ब्याजको कारण करिब १५० माझी परिवार घर, खेतबारी सबै यादवलाई बुझाएर विस्थापित भएका छन्,’ बुढाथोकीले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad