समाज


टेकनाथको स्वास्थ्यबारे इजलासमा उठाइयो प्रश्न, वकिलले भने : उनको बयान पत्याउनु हुँदैन

सानु भण्डारीको डायरी प्रहरीले तयार पारेको जिकिर
टेकनाथको स्वास्थ्यबारे इजलासमा उठाइयो प्रश्न, वकिलले भने : उनको बयान पत्याउनु हुँदैन

फाइल तस्बिर


नेपालखबर
जेठ २६, २०८० शुक्रबार १३:४९, काठमाडौँ

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्तहरुको पक्षमा जिल्ला अदालत काठमाडौंमा बुधबारदेखि प्रतिरक्षा बहस जारी छ।

बिहीबारसम्म डा. इन्द्रजित राईसहित ६ जना अभियुक्तको पक्षमा अधिवक्ताहरुले प्रतिरक्षा बहस गरेका थिए। शुक्रबार नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीको पक्षमा बहस भइरहेको छ।

उनको प्रतिरक्षामा पूर्वमहान्यायाधिवक्ता रमेश बडालसहितले बहस गरिरहेका छन्। टोपबहादुरको पक्षमा बहसका क्रममा वरिष्ठ अधिवक्ता बडालले अभियुक्तमध्ये केशव दुलाल, सानु भण्डारी र भुटानी शरणार्थी नेता टेकनाथ रिजालको नियतमाथि प्रश्न उठाए। 

उनले बिचौलियामध्ये केहीले मन्त्री हुँदा नै टोपबहादुर रायमाझी तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका स्वकीयको कोठामा गएर बसेको भनिएको कुरालाई पनि हावादारी भने। 

उनले कोही पनि बाहलवाला मन्त्री स्वकीयको कोठामा गएर बस्न नसक्ने बरु अर्का मन्त्रीकहाँ गएर बस्ने जिकिर गरे।

रिजालले यसअघि सरकारी वकिललाई दिएको बयानमा रायमाझीले नक्कली शरणार्थी बनाउन खटिएका बिचौलियासहित आफूलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उनको खुमलटारस्थित निवासमै लगेर भेटाएको उल्लेख गरेका थिए। 

त्यस भेटका क्रममा प्रचण्डले टोपबहादुरमार्फत सबै काम हुने बताएको बयान पनि दिएका थिए। प्रचण्डले त्यति भनेपछि अरु काम सरासर भएकव बयान उनले दिएका छन्। त्यो भेटपछि नेपाल सरकारले आफूलाई दिने गरेको मासिक सुविधा पनि पाएको उनले उल्लेख गरेका थिए। 

तर रायमाझीको बचाउमा उत्रिएका बडालले रिजालको मानसिक स्वास्थ्यमै प्रश्न उठाउँदै उक्त कुराको खण्डन गरेका हुन्। ।

‘यो अनुसन्धानका क्रममा यस्ता कयौँ तथ्य अभियोगपत्रमै गलत छन्’, उनले भने, ‘टेकनाथ रिजालले आफूले लेखेको किताबमा भुटानको जेलमा बस्दा मेरो माइन्ड कन्ट्रोल गरिएको भनेका छन्। उनले किताबमै मैले जे भन्न खोजिरहेको हुन्छु, त्यो मैले भन्न सकिरहेको हुन्न भनेका छन्। मेरो कुरा अरु कसैले भनिरहेको छ भनेर लेखेका छन्। टेकनाथ रिजालको बयान पत्याउनु हुँदैन। उनी आफैंले भुटानमा दिइएको यातनाको असर अहिले पनि देखिएको छ भनेका छन्।’

बडालले टोपबहादुरको प्रतिरक्षाका क्रममा घुमाउरो भाषामा टेकनाथको दिमागी अवस्था अहिले पनि ठीक नभएको र अरु कसैको नियन्त्रणमा रहेको उल्लेख गरे।

‘त्यसले गर्दा उहाँले आरोप लगाउँदैमा, बयानमा पोल्दैमा टोपबहादुरलाई अभियुक्त भन्न मिल्दैन। यसमा जियो पोलिटिक्सको कुरा पनि जोडिन्छ, त्यो कुरा उहाँमार्फत त्यो पनि भइरहेको छ’, उनले भने।

त्यसपछि इजलासबाट न्यायाधीशले अमेरिका लैजाने कसरी हो? यसको प्रक्रिया के हो? भनेर बडाललाई सोधेका थिए। 

त्यसपछि बडालले नेपालले अनुरोध मात्रै गर्ने बताउँदै नेपालले अनुरोध गर्दा लाने देशले नमाने यो सम्भव नहुने उल्लेख गरे। 

बडालले बरामद गरिएको सानु भण्डारीको डायरी भएका कुराहरुलाई पनि पत्याउने अवस्था नरहेको उल्लेख गरेका छन्। 

‘सानु भण्डारीको डायरीमा टोपबहादुरको छोरालाई पैसा दिएको भनिएको छ। तर छोराले पैसा बुझेको केसमा बाबुलाई प्रतिवादी बनाउन मिल्दैन’, उनले भने, ‘प्रहरीले आफैंले तयार गरेर त्यो डायरी दिएको हो। केशव दुलालको बयान शंकास्पद र एउटा पोलिटिकल आइडोलोजी भएकालाई मात्रै पोलिएको छ। त्यहाँबाट पनि यो बदनियतपूर्ण हो भन्ने थाहा हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .