ad ad

समाज


सवारी दुर्घटनामा उपप्रधानमन्त्री खड्काकी माइली भाइबुहारीको निधन

सवारी दुर्घटनामा उपप्रधानमन्त्री खड्काकी माइली भाइबुहारीको निधन

नेपालखबर
जेठ १६, २०८० मंगलबार २२:५१, काठमाडौँ

बाँकेमा मंगलबार भएको सवारी दुर्घटनामा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काकी भाइबुहारीको मृत्यु भएको छ।

सुर्खेततर्फ जाँदै गरेको उनीहरू सवार कारलाई बाँकेको राप्तीसोनारी गाउँपालिका–८ मुगुवा खोलानजिकै मंगलबार बेलुका साढे चार बजेतिर नेपालगन्जबाट पूर्वतर्फ जाँदै गरेको बसले ठक्कर दिएको थियो।

पारिवारिक स्रोतका अनुसार खड्काकी बुहारी सञ्जु र कार चालक गोरखाको आँपपिपलका ३७ वर्षीय सुवास अधिकारीको पनि मृत्यु भएको छ।

दुर्घटनापछि उनीहरूलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगाएको थियोे। उनीहरूको उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ।

मृतक सञ्जु बुढा उपप्रधानमन्त्री खड्काका माइला भाइ डम्बर खड्काकी श्रीमती  हुन्।

डम्बर कर्णाली प्रदेश अस्पतालका निर्देशक हुन्। निर्देशक डा. खड्का विश्व स्वास्थ्य संगठनको महासभामा भाग लिन गत जेठ ६ गते जेनेभा गएका छन्।

मृतक सञ्जु र डम्बरका दुई छोरा छन्। एक छोरा एमबीबीएस पढ्दै गरेको स्रोतले जनाएको छ।

‘घटनापछि उपप्रधानमन्त्री खड्का अस्पताल पुगिसकेका छन्', स्रोतले भन्यो, ‘अस्पतालमा सेना पनि खटाइएको छ। आफन्त र शुभचिन्तकहरू आइरहनुभएको छ। सबै शोकमा पर्नु भएको छ।

प्रहरीका अनुसार सञ्जु सवार कारलाई ठक्कर दिने बस सगरमाथा यातायात प्रालिको हो। उक्त बसमा २६ जना यात्रु थिए।

उनीहरूमध्ये ६ जना घाइते भएको कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए। घाइते सबैको अवस्था खतरामुक्त रहेको पनि प्रहरीले जनाएको छ।

दुर्घटनापछि कार पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने बसको अगाडिको भागमा क्षति पुगेको छ।


प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .