नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा भएको ठगीमा संलग्न अर्की अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
यो प्रकरणको अनुसन्धान अघि बढेदेखि फरार रहेकी अभियुक्त ललितपुरकी ३२ वर्षीया लक्ष्मी महर्जनलाई प्रहरीले शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले बताए।
महर्जनलाई पक्राउ गरेपछि शुक्रबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ। अन्य अभियुक्तको बयान चलिरहेका बेला पक्राउ परेकी महर्जनलाई सिधै अदालतमा उपस्थित गराइएको हो।
अब उनको पनि अदालतमै बयान अघि बढ्ने भएको छ। महर्जनसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या पनि अब १७ पुगेको छ।
यो प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बुधबार नै अदालतमा मुद्दा दर्ता गरिसकेको छ।
यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित पक्राउ परेका १६ जना र पक्राउ नपरेका १७ जनासहित ३० जनाविरुद्ध मुद्दा चलाइएको छ।
अझै पनि १३ जना फरार सूचीमा छन्। उनीहरुविरुद्ध पनि प्रहरीले मुद्दा दर्ता गरिसकेको छ। पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक र बादलका तत्कालीन सल्लाहकार इन्द्रजित राईका छोरा निरज पनि अझै फरार छन्।
अहिले जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा नक्कली भुटानी शरणार्थी प्रकणका अभियुक्तको बयान चलिरहेको छ।
अभियुक्तहरुलाई थुनामा पठाउने कि थुनाबाहिर राख्ने भन्ने आदेश गर्नुअघि इजलासको फाँट नं २५ मा यो मुद्दाका अभियुक्तको बयान जारी छ।
रायमाझी र खाँणसहित पूर्वसांसद आङटावा शेर्पा, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, गृहमन्त्रीका पूर्वसुरक्षा सल्लाहकार इन्द्रजित राई, खाँणका निजी सचिव नरेन्द्र केसी, टोपबहादुरका छोरा सन्दीप रायमाझी, शरणार्थी नेता टेकनाथ रिजाल, हज समितिका अध्यक्ष शमशेर मिया, सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, टंक गुरुङ, सागर राई, रामशरण केसी र गोविन्द चौधरी पक्राउ परेका छन्। उनीहरुसँगै लक्ष्मी महर्जन पनि शुक्रबार पक्राउ परिन्।
उनीहरुविरुद्ध ठगी, लिखित किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधमा मुद्दा दायर गरिएको छ। एकीकृत कसुरमा थप सजाय समेत हुनेछ।
यो कसुरमा अदालतले थुनाबाहिर पठाउने आदेश गरे उनीहरुलाई सम्पत्ति सुद्धिकरण र भ्रष्टाचारको कसुरमा पक्राउ गरेर अनुसन्धान सुरु गरिने छ।
प्रतिक्रिया