ad ad

समाज


पहिल्यै हिरासतमा बस्न कम्बल लिएर पुगेका थिए आङटावा, बल्ल पर्‍यो उजुरी

पहिल्यै हिरासतमा बस्न कम्बल लिएर पुगेका थिए आङटावा, बल्ल पर्‍यो उजुरी

फाइल तस्बिर


नेपालखबर
जेठ ७, २०८० आइतबार २३:३६, काठमाडौँ

गत जेठ १ गते नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाले आत्मासमर्पण गर्ने सूचना पहिल्यै जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगिसकेको थियो।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउन गरिएको ठगी प्रकरणमा हाइप्रोफाइल पक्राउ पर्न थालेपछि कांग्रेसका पूर्वसांसद शेर्पा सम्पर्कविहीन भएका थिए। वैशाख २९ मा पक्राउ पुर्जी जारी हुनुअघि नै उनी गायब भइसकेका थिए।

उनले त्यही प्रकरणमा प्रहरी हिरासतमा थुनिएका अन्य आरोपीहरूलाई भेटेर बयान दिन सिकाएको खुलिसकेको थियो।

खासगरी शेर्पाले पूर्वगृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाँणलाई यो प्रकरणबाट जोगाउने प्रयास गरेका  थिए।

तर बालकृष्णलाई जोगाउन खोजेका उनले त्यहाँ पनि बेइमान गरे। खाँणले एक ५ पटकमा एक करोड रुपैयाँ फिर्ता गर्न पठाए पनि शेर्पाले ३० लाख रुपैयाँ सानु भण्डारीका दाजुलाई दिएर बाँकी ७० लाख आफैं राखेको खुलेको छ।

यी सबै कुरा भने प्रहरीले पत्ता पाइसकेको थिएन। ‘शेर्पाले हिरासतका थुनुवालाई भेटेको र पक्राउ परेका व्यक्तिले उनको पनि संलग्नता रहेको बताएपछि सामान्य सोधपुछका लागि मात्रै बोलाएका थियौं’, काठमाडौं परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीले भने।

त्यसबेला शेर्पा छोरासँग प्रहरी कार्यालय पुगेका थिए। परिसरको गेटमा आउनासाथ भित्र खबर गर्न पूर्वसूचना गरिएको थियो। तर उनी गेटमा एसएसपीलाई भेट्न हिँडेको भनेर सिधै छिरे।

सिधै एसएसपीको कार्यकक्ष अगाडि पुगेपछि मात्रै आङटावा आएको प्रहरीले थाहा पायो। प्रहरीले उनलाई सोधपुछ गरेर छाड्ने तयारी गरेको थियो। तर आङटावा हिरासत बस्ने तयारीसहित पुगेका थिए।

हिरासतमा बस्ने मनस्थितिसहित उनले घरबाटै कम्बल लगायत लुगाफाटा बोकेका थिए। परिसर पुगेर उनले एसएसपी कार्कीलाई भेटे।

कार्कीले नक्कली शरणार्थी प्रकरणमा भएको ठगीमा नाम जोडिएकाले सोधपुछ गर्न बोलाएको बताए। तर आङटावाले सोझै बताएनन्। टार्न खोजे। उनी आफैँ थप शशंकित देखेपछि प्रहरीले थप अनुसन्धानका लागि हिरासतमा राख्यो। भोलिपल्ट म्याद थप गरेर उनीमाथि अनुसन्धान अगाडि बढाइयो।

बालकृष्णबाट फिर्ता लिएकोमध्ये उनले ३० लाख रुपैयाँ सानु भण्डारीका दाजुलाई दिइसकेको भर्पाई प्रहरीले पाइसकेको थियो।

त्यो रकम बालकृष्ण खाँणले फिर्ता गरेको पनि प्रहरीलाई जानकारी थियो। सानु भण्डारीले बयानमा सबै कुरा खोलिसकेका थिए।

यही विषयमा सोधपुछका लागि बोलाइएका शेर्पाले कुरा छल्न खोजे। उनले संलग्नता नरहेको भनेर ढाँट्ने कोसिस गरे।

त्यसपछि अनुसन्धान अगाडि बढ्दै जाँदा शरणार्थी प्रकरणमा उनको पनि प्रत्यक्ष संलग्नता रहेको खुल्यो।

संलग्नता खुलिसक्दा पनि शेर्पाबाट ठगिएका कोही पीडित जाहेरी लिएर प्रहरी कार्यालय पुगेका थिएनन्। उनले रामेछाप र दोलखा लगायत जिल्लाका सर्वसाधारणलाई ठगेका थिए।

ठगिएकालाई उनले पैसा फिर्ता गर्ने बचन दिएका थिए। पैसा नपाए उजुरी गरिहाल्नेलाई फिर्ता पनि गरेका थिए। तर उनले रकम असुलेका कतिपय भने अझै पनि अमेरिका जाने पर्खाइमै रहेको पाइएको छ।

यस्ता केही पीडितले शनिबार मात्रै यो प्रकरणबारे थाहा पाएका थिए। दोलाखाका केही पीडितले शनिबार मात्रै आङटावा पक्राउ परेको थाहा पाए।

उनीविरुद्ध पनि शरणार्थी प्रकरणमा मुद्दा चलिरहेको जानकारी बल्ल पाएको पीडितहरूले बताएका छन्।

शेर्पाबाट गठिएका यस्ता ५ जना पीडित आइतबार जिल्ला प्रहरी परिसर काठमाडौंमा आएर जाहेरी दिएका छन्।

उता प्रहरी यो प्रकरणको अनुसन्धान सकेर प्रतिवेदन तयारीको अन्तिम चरणमा थियो। प्रहरीले आइतबार नै जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरिरहेको थियो।

तर ५ जना पीडित आङटावाबाट ठगिएको भन्दै जाहेरी लिएर पुगे। त्यसपछि यसमा पनि थप अनुसन्धान गरेर प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ।

यी पीडितको पनि जाहेरी र यसमा पनि आङटावाको संलग्नताबारे बयान लिएर प्रतिवेदन बुझाउने तयारी प्रहरीले गरेको छ।

शेर्पा भने एकसातादेखि हिरासतमै छन्। जाहेरी परेपछि उनीविरुद्धका प्रमाण थप बलियो भएको प्रहरीले जनाएको छ।

उनले जोगाउन खोजेका खाँणलाई प्रहरीले त्यसअघि नै वैशाख २७ गते पक्राउ गरेको थियो। यस्तै उनलाई रकम ल्याइदिने खाँणका पूर्व निजी सचिव नरेन्द्र केसी पनि त्यतिबेलै पक्राउ परेका थिए।

सञ्चारमाध्यममा उनीविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको र प्रहरीले खोजी गरिरहेको सूचना पाइसकेका थिए।

प्रहरीले उनको काठमाडौंस्थित निवास र रामेछापस्थित घरमा छापा मारिसकेको थियो। त्यसपछि परिवारका अन्य सदस्यले दुःख पाउने देखेपछि शेर्पाले छोरासँग प्रहरी कार्यालय पुगेको बताएका छन्।

प्रहरी हिरासतमा बसेकै रात उनको टाउकोसमेत फुटेको थियो। राति शौचालयमा लडेर टाउको फुटेको प्रहरीले बताएको छ।

एसएसपी कार्कीले यसमा अन्य शंका नगर्न रबताउँदै उनी शौचालय आउँदा जाँदाको सीसीटीभी फुटेज सुरक्षित रहेको बताए।

यसैबीच प्रहरीले १६ जना प्रतिवादीकै बयान सकिसकेको छ। अहिले ३२ जनाविरुद्ध मुद्दा दायर गर्ने प्रहरीको तयारी छ।

पक्राउ परेका जति नै फरार रहेको र अन्य केहीको अहिले नाम मात्रै उल्लेख गरेर पछि पक्राउ गरेर अनुसन्धान गर्ने गरी मुद्दा अगाडि बढाउने प्रहरीले जनाएको छ।

आइतबार थप तीन दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ। प्रहरीले सोमबार अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ।

जेठ १० गते जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा अभियोग दर्ता गर्ने तयारी छ। तर, पक्राउ परेका कसलाई कुन अभियोग लगाउने निश्चित भइनसकेको एसएसपी कार्कीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .