ad ad

राजनीति


चीनमा चिनियाँ कम्युनिस्ट पार्टी र माओवादी केन्द्रबीच छलफल, ल्हासा-काठमाडौं सीधा उडान छिट्टै

चीनमा चिनियाँ कम्युनिस्ट पार्टी र माओवादी केन्द्रबीच छलफल, ल्हासा-काठमाडौं सीधा उडान छिट्टै

चिनियाँ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्दै माओवादी केन्द्रको प्रतिनिधिमण्डल। तस्बिर : रासस


नेपालखबर
जेठ ८, २०८० सोमबार ६:१२, ल्हासा

चीनमा नेकपा माओवादी केन्द्रको प्रतिनिधिमण्डलले चिनियाँ कम्युनिस्ट पार्टीका उच्चपदस्थ अधिकारीहरूसँग भेटवार्ता गरेको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको मैत्रीपूर्ण निमन्त्रणामा गत शुक्रबार चीन गएको माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रतिनिधिसभाका निवर्तमान सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको टोलीले त्यही दिन दिउँसो चिनियाँ अधिकारीहरूसँग भेटवार्ता गरेको हो। भेटका क्रममा चिनियाँ प्रतिनिधिमण्डलका नेता वाङले ल्हासा विमानस्थलको स्तरोन्नति भइरहेकाले छिट्टै ल्हासा–काठमाडौँ सीधा हवाई सेवा सञ्चालन हुने बताए। 

‘एक असल छिमेकी मित्रराष्ट्रको हिसाबले नेपाललाई आवश्यक पर्ने सहयोग गर्न चिनियाँ कम्युनिस्ट पार्टी र चीन सरकार प्रतिबद्ध छ’, नेता वाङ्ले भने, ‘ल्हासा विमानस्थलको स्तरोन्नति भइरहेको छ, अब छिट्टै ल्हासा–काठमाडौँ सीधा हवाई सेवा सञ्चालन हुनेछ।’

नेपाली प्रतिनिधिमण्डलका नेता सापकोटाले नेपाल–चीन सम्बन्ध सदियौँ पुरानो रहेको र दुई देशको सम्बन्ध प्रगाढ एवम् अतुलनीय रहेको स्मरण गर्दै अन्तर्राष्ट्रिय र व्यापारिक नाका पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन आग्रह गरे। उनले भने, ‘चीनको विकासबाट नेपालले सकारात्मक लाभ लिन चाहेको छ। सीमा नाकामा रहेका अन्तर्राष्ट्रिय र व्यापारिक नाका पूर्ण क्षमतामा सञ्चालन गर्ने र काठमाडौँ–ल्हासा सिधा हवाई उडान पुनः सञ्चालन हुने नेपालको अपेक्षा छ।’

सापकोटाले नेपाल एक चीन नीतिप्रति दृढ रहेको बताउँदै नेकपा माओवादी केन्द्र र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्ध थप प्रगाढ भएको बताए। १४ दिन लामो चीन बसाइका क्रममा नेपाली प्रतिनिधिमण्डलले चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लगायतका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्ने कार्यतालिका छ।

सापकोटा नेतृत्वको प्रतिनिधिमण्डलमा माओवादी केन्द्रका सचिवहरू गणेश साह, हितमान शाक्य, डिलाराम आचार्य, पार्टी निर्वाचन आयोगका प्रमुख कुबेर ओली, नेताहरू केशव नेपाल, परशुराम रम्तेल, जगतप्रसाद यादव, टेकेन्द्र भट्ट, सुबोध शेर्पाली, आसमान रोका, मनहरि तिमिल्सिना, लक्ष्मीकन्या बुढा, आङदावा शेर्पा, गीता कँडेल, हर्क नेम्वाङ, सुदर्शन बराल, सेसुराम भण्डारी र जिपी मैनाली छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .