नक्कली शरणार्थी प्रकरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले हिरासतमा सुत्नै नपाएको गुनासो गरेका छन्।
सोमबार म्याद थपका लागि जिल्ला सरकारी वकिल कार्यालयमा उपस्थित गराइएका रायमाझीले सुत्न नपाएर निद्रा बिग्रिएको गुनासो गरे।
आइतबार राति प्रहरी बृत्त सोह्रखुट्टेको हिरासतमा रहँदा हल्ला भएकाले आफू अनिदो रहेको बताउँदै बयानसमेत मंगलबार गराउन रायमाझीले आग्रह गरेका थिए।
सरकारी वकिल र प्रहरीले बयानका लागि छुट्टै कोठामा लैजान खोज्दा उनले भने, ‘मेरो त बयान भोलि गर्दा पनि हुन्छ। रातभर हल्ला गरेर सुतेको पनि छैन।’
तर हिरासतमा रहँदा भित्र राखिएका थुनुवा या बाहिरबाट आएको हल्लाबारे उनले केही पनि खुलाएनन्।
अदालतमा म्याद थप गरेर बयानमा उपस्थित गराउँदा जिल्ला सरकारी वकिल कार्यालय प्रमुख अच्युतमणि नेउपानेले रायमाझीलाई ‘केही अप्ठेरो त छैन नि’ भनेर सोधेका थिए।
जवाफमा रायमाझीले भने, ‘त्यही अनिदो भएर हो आज रातभर सुत्न पाइएन। त्यति हो। अरु त केही छैन।’
सोमबार अपरान्ह ४ बजेतिर बयान सुरु गर्न लाग्दा उनले सकेसम्म भोलि गर्न प्रस्ताव गरेका थिए।
तर आजै सके ढुक्क हुने बताउँदै म्याद पनि धेरै नरहेको जिकिरसहित सरकारी वकिल र प्रहरीले सोमबार नै उनको बयान सुरु गरेका छन्।
रायमाझीलाई प्रहरी बृत्त सोह्रखुट्टेको हिरासतमा राखिएको छ। उनलाई त्यहाँ अन्य थुनुवालाईभन्दा विशेष सुविधा छ।
सिंगल रुममा खाटसहितको व्यवस्था रायमाझीका लागि गरिएको छ।
यसबीचमा हर्निया रोग बल्झिएको पनि उनले बताए। ‘बेल्ड बाँधिरहँदा मेन्टन भइराख्ने रहेछ, यो १०/१५ दिनमा बल्झियो के। योबीचमा डिस्टर्ब भयो’, उनले भने।
त्यसअघि जिल्ला अदालतका न्यायाधीशसामु इजलासमा पनि उनले आफू हर्नियाको बिरामी रहेको बताएका थिए।
आइतबार राति पक्राउ परेका रायमाझीलाई सुरुमा जिल्ला प्रहरी परिसर काठमाडौं लगिएको थियो। त्यहाँबाट स्वास्थ्य परीक्षणका लागि राति नै तीनकुनेस्थित कान्तिपुर अस्पताल लगियो।
त्यहाँबाट उनलाई हिरासतमा राख्न सोह्रखुट्टे बृत्त लगिएको थियो। त्यसबेलासम्म मध्यराति १२ बजिसकेको थियो।
सोमबार दिउँसो साढे २ बजेपछि उनलाई म्याद थपका लागि जिल्ला सरकारी वकिल कार्यालय र त्यहाँबाट अदालत लगियो।
अदालतले हिरासतमा राख्न तीन दिन म्याद दिएपछि सोमबारदेखि नै बयान सुरु गरिएको हो।
Shares
प्रतिक्रिया