ad ad

समाज


म्यानम्यारमा बज्रिँदै अति शक्तिशाली चक्रवात, नेपालमा पर्न सक्छ यस्तो प्रभाव

म्यानम्यारमा बज्रिँदै अति शक्तिशाली चक्रवात, नेपालमा पर्न सक्छ यस्तो प्रभाव

फाइल तस्बिर


नेपालखबर
बैशाख ३१, २०८० आइतबार ७:३४, काठमाडौँ

आज (आइतबार) देशका पहाडी भेगमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

त्यसो त अहिले पनि गण्डकी र कर्णालीका एक/दुई स्थानमा छिटपुट वर्षा भइरहेको महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्। 

‘यसबाहेक यतिबेला (आइतबार बिहान ७ बजे) देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) रही बाँकी भूभागमा मौसम सामान्यतया सफा छ’, उनले भनिन्। 

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो  देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया  सफा रहनेछ। पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का  वर्षाको सम्भावना छ।

यस्तै आज राति देशको पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया  सफा रहनेछ। कोशी प्रदेश तथा गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

काठमाडौं उपत्यकामा पनि वर्षाको सम्भावना
आज काठमाडौं उपत्यकामा पनि वर्षाको सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार काठमाडौं उपत्यकामा आज दिउँसो र राति पनि छिटपुटदेखि हल्का वर्षा हुने सम्भावना छ। 

चक्रवातको असर
बंगालको खाडीमा बनेको ‘मोखा’ नामक चक्रवात हाल अति शक्तिशाली चक्रवातमा परिणत भएको छ। उक्त चक्रवात उत्तर–उत्तर–पूर्व दिशातर्फ उन्मुख हुँदै बंगलादेश तथा म्यानमारको तटीय क्षेत्रमा अघि बढिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

‘अहिलेसम्म त्यो चक्रवात समुद्रमै छ, आज दिउँसोतिर त्यो जमिनमा ठोक्किने देखिन्छ’, मौसमविद् प्रतिभा मानन्धरले भनिन्, ‘जमिनमा ठोक्किएपछि त्यस वरपरका जमिनमा प्रभाव पर्छ।’

उनका अनुसार चक्रवात म्यानमारको जमिनमा आज दिउँसो ठोक्किने सम्भावना छ। ‘त्यसको असरले भोलि र पर्सि नेपालमा बादल आउने र वर्षा पनि हुने सम्भावना छ’, मौसमविद् मानन्धरले भनिन्, ‘तर त्यस्तो ठूलो वर्षाको सम्भावना देखिएको छैन।’

उनका अनुसार चक्रवातको असर खासगरी नेपालको पूर्वी भागमा पर्ने भए पनि पश्चिमी र स्थानीय वायुसमेत रहेका कारण भोलि र पर्सि देशभरि नै बादल बन्ने र वर्षा हुने सम्भावना छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .