ad ad

समाज


भारतमा अति शक्तिशाली चक्रवातको असर, नेपालमा?

भारतमा अति शक्तिशाली चक्रवातको असर, नेपालमा?

नेपालखबर
बैशाख ३०, २०८० शनिबार १०:५२, काठमाडौँ

बंगालको खाडीमा विकसित ‘मोखा’ नामक चक्रवात हाल अति शक्तिशाली चक्रवातमा परिणत भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

उक्त चक्रवात उत्तर–उत्तर पूर्व दिशातर्फ उन्मुख हुँदै बंगलादेश तथा म्यानमारको तटीय क्षेत्रतर्फ अघि बढिरहेको महाशाखाले जानकारी दिएको छ।

महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार उक्त चक्रवातले छिमेकी मुलुक भारतमा असर गर्न थालिसकेको छ। यसले विशेषगरी बंगलादेश र म्यानमारमा असर पारिरहेको उनले जानकारी दिए। 

भारतका चेन्नई, बैंग्लोर, भुवनेश्वरी, कोलकात्तालगायत क्षेत्रमा चक्रवातको असर देखिएको उनले जानकारी दिए।  

माैसमविद्का अनुसार चक्रवातले असर पारेका स्थानमा बादल बन्ने, हावाहुरी आउने र वर्षा हुने हुन्छ।  

नेपालमा चाहिँ कस्तो असर?
उक्त चक्रवातको असर नेपालमा हल्का देखिएको मौसमविद् रोजन लामिछानेले बताए। 

‘अहिलेसम्म यसले नेपालमा उल्लेखनीय प्रभाव पारेको छैन’, मौसमविद् लामिछानेले शनिबार बिहान नेपालखबरसँग भने, ‘तर पनि देशको पूर्वी भाग कोशी, मधेश र बागमती प्रदेशमा चक्रवातका कारण अलि अलि बादल आइरहेको छ। तर अहिलेसम्म त्यसले पानी पार्ने देखिएको छैन।’

उनले थपे, ‘भोलिसम्म चाहिँ कोशी प्रदेशको पहाडी भेगमा पानी पर्न सक्छ।’

उक्त चक्रवातले देशको पश्चिमी क्षेत्रमा भने कुनै असर नपार्ने तर पूर्वी भेगमा भने बादल बन्ने, बदली हुने र वर्षा पनि हुन सक्ने सम्भावना रहेको उनको भनाइ छ। 

‘चक्रवातले भोलिसम्म कस्तो मोड लिन्छ, त्यस आधारमा थप अनुमान गर्न सकिन्छ’, मौसमविद् लामिछानेले भने।

आज (शनिबार) बिहान ६ बजेसम्मको अनुमानअनुसार ३ दिन मौसम यस्तो रहने सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ : 

वैशाख ३० गते शनिबार (आज)
दिउँसो ː कोशी प्रदेशलगायत बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली  प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेशलगायत बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।

राति : देशभर मौसम सामान्यतया सफा रहने छ।

वैशाख ३१ गते आइतबार
दिउँसो ː देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।

राति : कोशी प्रदेश, मधेश प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

जेठ १ गते सोमबार  
दिउँसो ː देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।

राति : देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .