यतिबेला (सोमबार बिहान ८ बजे) तराई क्षेत्रबाहेक देशभर मौसम बदली (आकाशमा बादल) भएको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका भने तराईमा पनि मौसम आंशिक बदलीदेखि सामान्य बदली भएको छ।
‘अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली भएको छ भने बाँकी प्रदेशका पहाडी भेगमा आंशिक बदली भएको छ’, उनले भनिन्, ‘यसबाहेक तराई क्षेत्रमा भने अहिले मौसम सामान्यतया सफा छ।’
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका थोरै स्थान र अन्य प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।
आज दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा सामान्य हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज राति देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।
काठमाडौँमा वर्षाको सम्भावना कम
मौसमविद् सजिना शाक्यका अनुसार काठमाडौँमा आज वर्षाको सम्भावना कमै छ। ‘सम्भावनै छैन भन्न त मिल्दैन’, उनले भनिन्, ‘तर कम छ।’
Shares
प्रतिक्रिया