सामान्यतया हुस्सु/कुहिरो जाडो याम (विन्टर) मा मात्र लाग्छ। तर वैशाख (गर्मी) का बेला पनि काठमाडौँ उपत्यकामा आज बिहान हुस्सु/कुहिरो देखिएको छ।
यो अनौठो होइन?
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यले भनिन्, ‘यो अनौठैचाहिँ होइन।’
वर्षाका कारण जलवाष्पको मात्रा बढेकाले काठमाडौँ उपत्यकामा हुस्सु/कुहिरो देखिएको उनको भनाइ छ। ‘तर यो घाम लागेसँगै बिस्तारै हट्दै जान्छ’, उनले भनिन्।
हुस्सु/कुहिरोले गर्दा यहाँको पारदर्शिता (भिजिबिलिटी) पनि कम भएको छ। मौसमविद् शाक्यका अनुसार अहिले काठमाडौँ उपत्यकाको भिजिबिलिटी ४ सय मिटर छ।
केही दिनदेखि देशभरसँगै काठमाडौँमा दैनिक पानी परिरहेको थियो।
आज भने काठमाडौँ उपत्यकामा वर्षाको सम्भावना कम भएको उनले बताइन्। ‘भए पनि क्षणिक वर्षा हुनसक्छ’, उनले भनिन्, ‘तर हिजोको जस्तो हुँदैन।’
Shares
प्रतिक्रिया