ad ad

समाज


मौसम : आजदेखि गर्मी घट्ने, तुवाँलो हट्ने

मौसम : आजदेखि गर्मी घट्ने, तुवाँलो हट्ने

फाइल तस्बिर


नेपालखबर
बैशाख ८, २०८० शुक्रबार ७:४२, काठमाडौँ

आजदेखि गर्मी तथा वायु प्रदूषण घट्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज र भोलि देशभर मौसम बदली हुने भएकाले केही दिनदेखि बढिरहेको तापक्रम घट्ने देखिएको हो। साथै देशका केही स्थानमा वर्षा पनि हुने भएकाले ती ठाउँमा तापक्रम घट्नुका साथै धुम्मिएको मौसम (तुवाँलो) सुधार भई वायु प्रदूषण घट्ने आकलन गरिएको उनले बताए। 

‘आजबाट (मौसम) बदली राम्रैसँग बढ्छ, पश्चिम नेपालका केही स्थानमा त अहिले वर्षा पनि भइरहेको छ’, मौसमविद् अधिकारीले शुक्रबार बिहान नेपालखबरसँग भने, ‘आज र भोलि बादल देशव्यापी रूपमा लाग्ने भएकाले पानी नै नपर्ने स्थानमा पनि तापक्रम घट्ने देखिन्छ, देशैभर मौसम सुध्रिन्छ, क्लियर हुन्छ त भन्न सकिन्न, तर पानी परेका स्थानमा मौसम सुधार हुने देखिन्छ।’

उनका अनुसार पानी पर्ने स्थानमा डढेलो कम हुनाका साथै तुवाँलो हटेर वायु प्रदूषण कम हुने सम्भावना छ। 

आज दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भेगका केही स्थान तथा देशका बाँकी  क्षेत्रका थोरै स्थान (जुनसुकै ठाउँ) मा पानी पर्ने सम्भावना रहेको उनले जानकारी दिए। 

काठमाडौँमा पनि गर्मी घट्यो
मौसमविद् अधिकारीका अनुसार आज काठमाडौँ उपत्यकामा पनि हिजो अस्तिको जस्तो गर्मी छैन। आकाशमा बादल लागेकाले तापक्रम केही कम भएको उनको भनाइ छ। ‘आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम ३० डिग्री ननाघ्ला’, उनले भने, ‘हिजो (बिहीबार) काठमाडौँ उपत्यकाको अधिकत तापक्रम ३३ डिग्री सेल्सियस पुगेको थियो।’

मौसमविद् अधिकारीका अनुसार आज काठमाडौँ उपत्यकामा पनि वर्षा हुने सम्भावना छ। ‘पश्चिम नेपालको जत्तिकै सम्भावना नरहे पनि उपत्यकामा पनि आज क्षणिक वर्षाको सम्भावना छ, वर्षाको सम्भावना ३० प्रतिशत देखिएको छ।’ 

तराईमा हावाहुरीको सम्भावना
मौसम महाशाखाका अनुसार आज दिउँसो तराईका थोरै स्थानमा हावाहुरी पनि आउने सम्भावना छ। यस्तै राति पनि तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

राति मौसम कस्तो होला?
मौसम महाशाखाका अनुसार आज राति देशका पहाडी भेगमा आंशिकदेखि  सामान्यतया बदली (आकाशमा बादल) रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। पहाडी क्षेत्रका थोरै स्थानमा भने राति मेघगर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको  सम्भावना छ। 

तलको सूचना पनि हेर्नुहोस्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .