समाज


अन्नपूर्ण हिमालमा मृत्यु भएका र उद्धार गरिएकालाई काठमाडौं लगियो

अन्नपूर्ण हिमालमा मृत्यु भएका र उद्धार गरिएकालाई काठमाडौं लगियो

नेपालखबर
बैशाख ५, २०८० मंगलबार २०:११, म्याग्दी

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण हिमालमा मृत भेटिएका र जीवितै उद्धार गरिएका आरोहीलाई काठमाडौं लगिएको छ। 

सात हजार पाँच सय मिटरको उचाइमा मृत भेटिएका स्कटल्यान्डका नोयल हान्नाको शव हेलिकप्टरमार्फत त्रिवि शिक्षण अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक किरन लामाले बताए। 

उनका अनुसार बेहोस अवस्थामा जीवितै भेटिएका भारतका बलदेव कौरलाई पनि हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौंको सिभिल अस्पतालमा लगिएको छ।

सेभेन समिट ट्रेकमार्फत अन्नपूर्ण आरोहणका लागि आएका हान्ना सुतेकै ठाउँमा बिहान मृत भेटिएका थिए।

पायनियर ट्रेकिङ कम्पनीबाट अन्नपूर्ण आरोहण गर्न गएका कौर अक्सिजनको कमीका कारण बेहोस भएका हुन्।

सेभेन समिटबाट आरोहणमा गएका भारतको राजस्थानको किशनगढका ३४ वर्षीय अनुराग मालु भेटिएका छैनन्।

आरोहण सफल नभएपछि मालु आधार शिविर फर्कने क्रममा सोमबार दिउँसोदेखि सात हजार पाँच सय मिटरको उचाइबाट समातेको डोरी फुत्किएपछि खसेर बेपत्ता भएका थिए।

उद्धारमा खटिएका म्याग्दी दानाका इन्द्रसिंह शेरचनका अनुसार आज चार वटा हेलिकप्टरमार्फत खोजी गरिएको थियो।

सिम्रिक, कैलाश, एयर अल्टिच्युट र एभरेष्ट एयरका हेलिकप्टर उद्धार र खोजीमा परिचालन भएका हुन्। आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालमा शनिबारदेखि चालु वर्षको वसन्त ऋतुको आरोहण सुरु भएको थियो।

यस वर्ष अन्नपूर्ण हिमाल आरोहणका लागि पर्यटन विभागबाट पाँच समूहका ४५ जनाले अनुमति लिएका छन्। अन्नपूर्ण हिमाल संसारको दशौँ अग्लो हिमाल हो। 

विसं १९५० मा फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण पहिलो पटक आरोहण गरेका थिए। 

मौरिसले अन्नपूर्ण चढेको तीन वर्षपछि १९५३ मा सर एडमण्ड हिलारी र तेन्जिन नोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad