समाज


फेरि सुरु भयो हिमपात र वर्षा

फेरि सुरु भयो हिमपात र वर्षा

नेपालखबर
पुस २२, २०७६ मंगलबार १:३३,

दुई दिन रोकिएको हिमपात र वर्षा फेरि सुरु भएको छ। पश्चिमी न्यून चापीय प्रणालीका कारण देशका विभिन्न स्थानमा हिमपात र वर्षा सुरु भइसकेकाे मौसमविद्ले बताएका छन्।

यसअघि पनि पश्चिमी न्यून चापीय प्रणालीकै कारणा झन्डै पाँच दिनसम्म हिमपात तथा वर्षा हुँदा देशभरजसाे जनजीवन कष्टकर भएकाे थियाे। याे प्रणाली बाहिरिएपछि हिमपात र वर्षा रोकिएर आइतबार र सोमबार देशभर सामान्यतया मौसम सफा रही धेरैजसो ठाउँमा घाम लागेको थियो।

तर याे प्रणाली सोमबार दिउँसो पुन: नेपाल प्रवेश गरेकाे मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्। 

‘पश्चिमी क्षेत्रमा हिजैदेखि यसको प्रभाव सुरु भइसकेको छ,’ मौसमविद् कँडेलले मंगलबार बिहान नेपालखबरसँग भनिन्, ‘दिपायललगायत आसपासका क्षेत्रमा अहिले पनि वर्षा भइरहेको छ।’

अहिले विशेषगरी पश्चिमी क्षेत्रका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुन सुरु भएको भए पनि यो प्रणाली बिस्तारै पूर्व सर्ने र मध्य तथा पूर्वी क्षेत्रका उच्च पहाडी तथा हिमाली भेगमा पनि हिमपात हुने उनले बताइन्।

‘आजलाई मध्य र पूर्वी क्षेत्रमा वर्षाको सम्भावना देखिन्न, मध्य क्षेत्रका केही स्थानमा छिटफुट वर्षा हुन सक्छ,’ मौसमविद् कँडेलले भनिन्, ‘भोलि (मंगलबार)चाहिँ मध्य र पूर्वमा पनि वर्षाको सम्भावना अलि बढी छ।’

महाशाखाले मंगलबार बिहान आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ : पश्चिमी निम्न चापीय प्रणाली भित्रिएसँगै वर्षारहिमपातको समभावना रहेको र यसकै कारण देशभर जाडो बढ्ने हुनाले चिसोबाट जोगिने उपाय अपनाउनुहुन सबैमा अनुरोध छ।

काठमाडौंमा पानी पर्छ कि पर्दैन?
आज मंगलबार काठमाडौं उपत्यकामा वर्षाको सम्भावना छैन।

मौसमविद् शान्ति कँडेलका अनुसार उपत्यकाको मौसम आंशिक बदली भने हुनेछ। यो भनेको कहिले घाम लाग्ने कहिले बादल लाग्ने हुनु हो।

आज बिहान गरिएको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.२ डिग्री सेल्सियस छ।

तराईको अवस्था के छ?
तराईमा हुस्सु/कुहिरो खासै छैन। बिहान सामान्य हुस्सु/कुहिरो देखिए पनि त्यो बिस्तारै हट्दै गएको मौसमविद् कँडेलले जानकारी दिइन्।

न्यून चापीय प्रणालीको प्रवेशपछि मौसम बदली हुने भएकाले हुस्सु/कुहिरो नलाग्ने उनको भनाइ छ। यसले गर्दा बिहान बिहान तराईमा हुने कठ्यांग्रिँदा जाडो कम हुने उनले बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad