छापा खबर


अर्थमन्त्री खतिवडाकाे पद जोखिममा!

अर्थमन्त्री खतिवडाकाे पद जोखिममा!

नेपालखबर
पुस २२, २०७६ मंगलबार १:९,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय सभाका सदस्यमा डा.युवराज खतिवडालाई उम्मेदवार नबनाएपछि अर्थमन्त्रीमा उनको निरन्तरता हुने–नहुने विषयले बजार तरंगित भएको छ।

खासगरी अर्थमन्त्रीबाट खतिवडा हट्दै छन् भन्ने हल्ला चलाएर सेयर बजारमा तीव्र चलखेल सुरु भएको खबर आजको कान्तिपुर दैनिकमा विजयराज खनाल र कृष्ण रिजालले लेखेका छन्।

तर, राष्ट्रिय सभा सदस्यमा खतिवडा जुन प्रक्रियाबाट नियुक्त भएका हुन्, सोही प्रक्रियाबाट पुनः आउन सक्ने सम्भावना कायमै छ।

खतिवडा राष्ट्रपतिबाट मनोनीत भएर राष्ट्रिय सभा सदस्य बनेका हुन्। राष्ट्रपतिबाट मनोनीत तीन जनामध्ये खतिवडाको कार्यकाल फागुनमा सकिँदै छ।

रिक्त हुने सो सिटमा खतिवडालाई नै ल्याउने आश्वासन उच्च राजनीतिक नेतृत्वबाट उनले पाएको विश्वस्त स्रोतहरू बताउँछन्।

राष्ट्रिय सभा सदस्यमा उनको निरन्तरता नभए पनि आगामी २० भदौसम्म उनले अर्थमन्त्रीका रूपमा काम गर्न पाउनेछन् ।

‘खतिवडाले आगामी आर्थिक वर्षको बजेट निर्माणको प्रक्रिया सुरु गरिसकेका छन्,’ स्रोतले भन्यो, ‘उनी सांसद रहे पनि, नरहे पनि आगामी आवको बजेट भने खतिवडाले नै प्रस्तुत गर्नेछन् ।’

खतिवडाले बनाएको बजेट कार्यान्वयन गर्न नयाँ अर्थमन्त्री ल्याउने जोखिम प्रधानमन्त्रीले सायद मोल्नेछैनन् । त्यसो त हाल अर्थमन्त्री बन्ने दौडधुपमा लागेका नेताहरूले पनि बजेट बनाउन पाए मात्रै मन्त्री हुने आशय राखेका छन्।

अर्थमन्त्रीमा आफूले पूर्ण कार्यकाल काम गर्ने संकेत भने खतिवडाले गत जेठमै गरेका थिए ।

चालू आर्थिक वर्षको बजेटका विषयमा अर्थ मन्त्रालयले आयोजना गरेको छलफल कार्यक्रममा पत्रकारहरूले ‘प्रधानमन्त्रीले अर्थमन्त्रीबाट तपाईंलाई हटाउने चर्चा चलेको छ नि’ भन्दै प्रश्न गरेका थिए ।

उनको जवाफ थियो, ‘अहिले तपाईंहरु अर्थमन्त्री कहिले हट्ने भन्दै सोध्नुहुन्छ, पछि गएर अर्थमन्त्री कहिल्यै नहट्ने भनेर खबर लेखनुहुनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad