उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग संयुक्त राज्य अमेरिकाका राजदूत डिन रिचर्ड थम्पसनले भेटवार्ता गरेका छन्।
भेटमा उपप्रधानमन्त्री खड्काले नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुवै देशबीच घनिष्ठ र सौहार्दपूर्ण सम्बन्ध रहेको बताएका थिए।
उनले नेपाली सेनाको पूर्वाधार विकासलगायत क्षमता विकासमा अमेरिकी सरकारले योगदान पुर्याएको उल्लेख गरे। नेपाल र अमेरिकाबीच ‘चौथो ल्याण्ड फोर्सेज टक्स’ सफलतापूर्वक सम्पन्न भएकोमा खड्काले खुसी व्यक्त गरे।
उनले अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा नेपाली सेनाको क्षमता अभिवृद्धिका लागि अमेरिकी सरकारको सहयोगको निरन्तरताको अपेक्षा गरे।
भेटमा राजदूत थम्पसनले नेपाल-अमेरिका ‘चौथो ल्याण्ड फोर्सेज टक्स’ सफलतापूर्वक सम्पन्न भएकामा खुसी व्यक्त गर्दै यसमा सहमति भएबमोजिम नेपाललाई हवाई साधनलगायतका उपकरण उपलब्ध गराउन प्रयत्न गर्ने उल्लेख गरे।
उनले नेपाली सेना एवं रक्षा मन्त्रालयको क्षमता विकासमा थप सहयोग उपलब्ध गराउन इच्छुक रहेको बताउँदै विश्व शान्ति स्थापनामा शान्ति सेनाको माध्यमबाट नेपालले खेलेको भूमिकाको प्रशंसा गरे।
त्यस अवसरमा रक्षा मन्त्रालयका सहसचिव बाबुराम अधिकारी, परराष्ट्र मन्त्रालयका प्रतिनिधिका साथै अमेरिकी दूतावासका रक्षा सहचारी एवं अन्य कर्मचारीसमेत उपस्थित थिए।
45
Shares

प्रतिक्रिया