ad ad

समाज


नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

नेपाल प्रहरीका तीन एआईजी मिरा चौधरी, आशा सिंह र किरण बज्राचार्य।


नेपालखबर
चैत १३, २०७९ सोमबार १३:१७, काठमाडौँ

नेपाल प्रहरीमा पहिलो पटक तीन महिला प्रहरी विशिष्ट श्रेणीमा पुगेका छन्। 

सोमबार बढुवा समितिले डीआईजी मीरा चौधरीलाई एआईजीमा बढुवा सिफारिस गरेको हो। 

यसअघि प्रहरी अस्पताल निर्देशकका रुपमा एआईजी डा. आशा सिंह र गतसाता किरण बज्राचार्य जनपदतर्फ नै एआईजी भएका थिए। 

प्रहरीको इतिहासमै एकसाथ तीनजना महिला एआईजी कार्यरत रहेको यो नै पहिलो पटक हो।

डा. सिंह साढे तीन वर्ष पहिले नै एआईजी भएकी थिइन्। २०७६ पुस ३ गते अस्पताल प्रमुख डा. दुर्गा थापाले अवकाश पाएपछि सिंह एआईजी भएकी थिइन्। 

यता जनपदतर्फ भने पूजा सिंह पहिलो महिला एआईजी हुन्। उनलाई गत गत जेठमा सरकारले एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो। 

तर, उनले एआईजीका रुपमा एक वर्ष पनि काम गर्न पाइनन्। पूजा सिंह गत फागुन ७ गते उमेरहदका कारण अवकाश भएकी थिइन्। 

सिंहको अवकाशसँगै नेपाल प्रहरीमा ५ एआईजी रिक्त भएको थियो। रिक्त ५ मध्ये किरण बज्राचार्य पनि बढुवा भएकी थिइन्। 

उनी आफ्नो ब्याचबाट प्रहरी नेतृत्वका लागि दाबेदार समेत भइन्। तर सरकारले पहिलो नम्बरमा रहेको वसन्तबहादुर कुँवरलाई आईजीपी बनाएसँगै पहिलो पटक नेतृत्वमा पुग्ने उनको सम्भावना टरेको थियो। 

तर ३० वर्षे हटाउने प्रक्रिया सुरु भइसकेकाले उनीहरुमध्येबाटै फेरि आईजीपी बन्ने सम्भावना रहनेछ। अहिलेकै अवस्थामा पनि किरण र मीरा करिब २ वर्ष प्रहरी सेवामा रहनेछन्। उनीहरु एकसाथ २०५१ चैत ५ गते प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका हुन्। 

डीआईजीसम्म सँगसँगै बढुवा भएका उनीहरु एआईजी भने ११५ दिनको फरकमा हुने भएका हुन्। मीरालाई अब एकसातापछि सरकारले एआईजीमा बढुवा गर्ने निर्णय गर्नेछ। 

तत्कालै एआईजी बढुवा गर्नु पर्ने भएकैले यसअघि बढुवा भएका एआईजीहरुको पनि पदस्थापन हुन सकेको छैन। 

डीआईजीमै छुटे दुर्गा र किरण


किरण बज्राचार्य र मीरा चौधरीसँगै भर्ना भएका दुर्गा सिंह र किरण राणा भने डीआईजीमै रोकिएका छन्। 

२०५१ चैत ५ गते एकसाथ चार महिला निरीक्षकमा भर्ना भएका थिए। किरण र मीराभन्दा बढुवामा पछि पर्दै आएका उनीहरुले पनि एआईजी बन्न जोड गरेका थिए। तर सरकारले वरीयताअनुसार एआईजी बढुवा गर्दा उनीहरु भने छुटे। 

गत असारमा एकसाथ १७ जना डीआईजीमा बढुवा भएका थिए। तीमध्ये १० औँ नम्बरसम्मका डीआईजीहरु एआईजी बनेका हुन्। यही ब्याचको पहिलो नम्बरमा रहेका वसन्तबहादुर कुँवर भने आईजीपी भएका छन्। 

एआईजी भएका दीपक थापा र टेकबहादुर तामाङ भने किरण राणा र दुर्गा सिंहभन्दा पछिल्लो ब्याचका हुन्। उनीहरु एसएसपीबाटै अगाडि लाग्दा किरण र दुर्गा भने एआईजीमा छुटेका हुन्। 

यही ब्याचका १८ जना भने अझै एसएसपी नै छन्। अब रिक्त भएका डीआईजीमा उनीहरुमध्येबाटै बढुवा हुनेछन्। बाँकी एसएसपीहरु सबै पुरुष छन्। यसअघि १७ डीआईजी बन्दा उनीहरुलाई चार महिलाले पछि पारेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .