ad ad

समाज


सरकारकै सचिवको लगेज फुटाइदिए नेपाल एयरलाइन्सका कर्मचारीले

सरकारकै सचिवको लगेज फुटाइदिए नेपाल एयरलाइन्सका कर्मचारीले

नेपालखबर
चैत ७, २०७९ मंगलबार ११:३१, काठमाडौँ

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमका यात्रुले पटक पटक अनेक सास्ती भोग्ने गरेका छन्। 

खासगरी लगेजका सन्दर्भमा नेवानिका कर्मचारीको लापरवाही सानोतिनो छैन। विदेशबाट आउने नेपाली र पर्यटकहरुको लगेज फुटाएर सामान चोरेका घटना कयौँ पटक सार्वजनिक भएका छन्।

कतिपय बेला कर्मचारीले लगेज फुटाएर मोबाइल फोनदेखि अन्य महँगा सामान गायब पारेको गुनासो यात्रुहरुले गर्दै आएका थिए।

सर्वसाधारणका लगेज चोरी र फुटाउने घटना आइरहेका बेला यसको शिकार नेपाल सरकारकै एकजना सचिव पनि भएका छन्।

काठमाडौंबाट नेपाल वायुसेवा निगमको जहाजमा दिल्ली गएका निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले यस्तै घटना व्यहोर्नुपरेको छ।

उनले त्रिभुवन विमानस्थलमा लक गरेर विमानमा राखेको लगेज दिल्ली एयरपोर्टमा उत्रिँदा तोडिएको अवस्थामा भेटिएको छ।

लक गरेर राखिएको लगेज दिल्ली एयरपोर्टमा रिसिभ गर्दा फुटाएर सामान पुरै चलाएको अवस्थामा भेटिएको हो। उनले आफ्नो लगेज फुटाएर लथालिङ्ग पारिएको अवस्थामा दिल्लीमा जिम्मा लिएका हुन्। 

'नेपाल एयरलाइन्सबाट दिल्ली पुगेपछिको पहिलो उपहार लथालिङ्ग पारिएको फुटाइएको ब्यागेज हात पर्यो', उनले गुनासो गर्दै ट्विटरमा लेखेका छन्, 'यसको जिम्मा कसले लिने? तिम्रो अनुसन्धान गर्दै गरौँला। मैले मेरो सामान बोक्न अब डोको खोज्नु पर्यो?'

सचिव दुवाडीले यसबारे सामाजिक सञ्जालमार्फत गुनासो गरेपछि पर्टयन मन्त्रालयले चासो दिएको छ।

पर्यटनमन्त्री सुदन किरातीका प्रेस सल्लाहकार राजन राईले यो लापरबाहीको घटनाबारे आवश्यक छानबिनका लागि नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई भनिसकिएको बताए।

'सचिवज्यूले सामाजिक सञ्जालमार्फत गरेको गुनासोबारे मन्त्रीज्यूको पनि ध्यानाकर्षण भएको छ', उनले भने, 'यसबारे हामीले निगमका कार्यकारी अध्यक्षलाई आवश्यक छानबिनका लागि भनिसकेका छौँ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .