ad ad

समाज


यौनदुराचारी अब विमानस्थलबाटै फिर्ता

यौनदुराचारी अब विमानस्थलबाटै फिर्ता

दीपक खरेल
पुस १७, २०७६ बिहिबार १२:३२,

सरकारले नेपाल आउने ‘सूचीकृत’ विदेशी यौन दुराचारीहरुलाई विमानस्थलबाटै फिर्ता पठाउने भएको छ। विदेशी यौन दुराचारीहरुले नेपाललाई गन्तब्य बनाउन थालेपछि इन्टरपोलको सहयोगमा अध्यागमन विभागले यस्तो निर्णय गरेको हो।

अध्यागमन विभागका उच्च स्रोतका अनुसार इन्टरपोलको काठमाडौं नेशनल सेन्ट्रल ब्युरो (एनसीबी) लाई उपलब्ध सूचना अनुसार यौन दुराचारको पृष्ठभूमि (रेकर्ड) भएका व्यक्तिले अब नेपालको भिसा नै पाउने छैनन्।

विभिन्न देशहरुमा यौन दुराचार तथा यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका र सजाय भुक्तान गरेकाहरुको सूची ती देशले नेपाल प्रहरीलाई उपलब्ध गराएका छन्।

सो सूची प्रहरीले अध्यागमन विभागलाई उपलब्ध गराएको हो। यस्तै इन्टरपोलको ‘नोटिस’ मा रहेका आरोपीहरुको सूची समेत विभागलाई उपलब्ध गराइएको हो।

‘हामीले यौन दुराचारीसहित अन्य आरोपी र सजाय भुक्तान गरेका व्यक्तिहरूलाई समेत भिसा नदिन सक्छौं’, विभागका निर्देशक रामचन्द्र तिवारीले नेपालखबरसँग भने, ‘उनीहरुको नेपाल बसाई यहाँका लागि खतराजनक देखिएमा अध्यागमन अधिकृतले जो कसैलाई भिसा नदिएर फिर्ता गर्न सक्छ।’

तिवारीका अनुसार अहिलेसम्म औपचारिक निर्णय नभए पनि विमानस्थल र स्थल प्रवेशद्वारमा खटिने अध्यागमन अधिकृतहरुलाई यस विषयमा जानकारी गराइएको छ।

विभागका अनुसार ‘अन अराईभल’ (विमानस्थलमै पाइने) भिसा पाइने भएकाले खासगरी पश्चिमा मुलुकमा यौन दुराचारसहित अन्य अपराधमा सजाय भुक्तान गरेका अभियुक्तहरूको रोजाइमा नेपाल पर्न थालेको छ।

सजिलै प्रवेश पाइने भएकाले नेपाल आएर सोही प्रकृतीका अपराधमा संलग्न हुने गरेको तथ्यांक विभागसँग छ।

‘हामीले अध्यागमन अधिकृतहरुलाई अब अनअराईभल भिसा दिँदा विशेष चनाखो र सचेत हुन भनेका छौं’, निर्देशक तिवारीले भने, ‘भिसासम्बन्धी अधिकार विभागसँग रहन्छ।’

अन्तर्राष्ट्रिय प्रहरी र संघसंस्थाबाट सूचना आएपछि नेपाल प्रहरीले बाल यौनदुराचारको आरोपमा सजाय भुक्तान गरेका व्यक्तिहरूको निगरानी बढाएको छ। तर निगरानीबाट मात्रै नेपालमा उनीहरुको गतिविधी नियन्त्रण नभएपछि प्रवेशमै रोक लगाउन लागिएको हो।

images_cms-image-000053338.jpg

दुई फ्रान्सेली र एक अमेरिकी निष्कासित
विभागले नेपालमा यौन दुराचारमा संलग्न रहेको आरोपमा सजाय भुक्तान गरेका दुई फ्रान्सेली नागरिकलाई देश निकाला गरिसकेको छ। यस्तै अमेरिकाको मार्सल सर्भिसको अनुरोधमा नेपालमा समेत अपराधमा संलग्न अमेरिकी नागरिक देश निकाला भएका छन्। विभागले यी तीनैजनालाई नेपाल प्रवेशमा सधैंका लागि रोक लगाउदै फिर्ता गरेको हो।

विभाग स्रोतका अनुसार अमेरिकी नागरिक नाथन बेडफोर्ड माकोवस्कीलाई अमेरिकी मार्सल सर्भिसको अनुरोधमा २०७६ भदौ ५ गते देश फिर्ता गरिएको हो। अमेरिकी दूतावास मार्फत मार्सल सर्भिसका वरिष्ठ निरीक्षक जोहन लोपेजले विभागलाई लेखेको पत्रमा माकोवस्की कुख्यात अपराधी भएको उल्लेख गरिएको थियो।

उनले भदौ १८ मा पत्र लेख्दै माकोवस्कीका विषयमा जानकारी गराएपछि विभागले आवश्यक प्रक्रिया पूरा गरेर उनलाई फिर्ता गरेको हो।

नाथनलाई अमेरिका लैजान त्यहाँको सरकारले विमान नै चार्टर गरेको थियो। कोरियन एयरलाईन्सको केई ०६९६ को उडानबाट फिर्ता लैजान खोज्दा उनले बबण्डर मच्चाएपछि विमान कम्पनीले उनलाई उडाउन मानेको थिएन। उनीसँगै मार्सल सर्भिसका तीनजना समेत विमानबाट बाहिर निकालिएका थिए।

उनीमाथि अमेरिकामा आफ्नै प्रेमिकाकी छोरीमाथि यौनदुराचार गरेको आरोप छ। अमेरिकी कानुनअनुसार यस्तो अपराधमा ९९ वर्षसम्म कैद सजाय हुन सक्छ। सन् २०१४ देखि २०१५ सम्म उनले प्रेमिकाकी छोरीमाथि यौन अपराध गरेको उजुरी परेको थियो।

प्रेमिकासँग सम्बन्ध टुटेपछि उनीविरुद्ध उजुरी परेको हो। उनीविरुद्ध अलास्का राज्यको प्रहरीले पक्राउ वारेन्ट जारी गरिसकेको छ। तर, नाथनले नेपालका अध्यागमन अधिकारीसँग भने आफूले त्यस्तो अपराध नगरेको दावी गरेका थिए।

यस्तै केन्द्रीय अनुसन्धान ब्युरोले २०७५ साउन ६ मा बाल यौनदुराचारको आरोपमा पक्राउ गरेका फ्रान्सेली नागरिक क्रिस्टोफर गुईलेक्स र डेनिस म्याथ्युलाई उनीहरुकै देश फिर्ता पठाएको थियो।

गृहसचिव प्रेमकुमार राईले साउन १५ गते उनीहरुलाई देश निकालाको निर्णय गरेका थिए। विभागले साउन १९ मा आवश्यक प्रक्रिया पूरा गरेर उनीहरुलाई फिर्ता गर्ने निर्णय गरेको थियो। दुबैलाई काठमाडौं जिल्ला अदालतले जनही एकवर्ष कैद र पीडितहरुलाई जनही ३० हजार क्षतिपूर्ती भराउने फैसला जेठ २ मा गरेको थियो।

तीन वर्षमा ब्युरोका १३ अप्रेसन, २१ मुद्दा
बाल यौनदुराचारीविरुद्ध ब्युरोले तीन वर्षमा १३ मुख्य कारबाही गरेको छ। जसमा ४ नेपाली र १४ विदेशी नागरिक पक्राउ परेका छन्। उनीहरुविरुद्ध २१ वटा मुद्दा अदालतमा दर्ता भएको छ।

ब्युरोको कारबाहीमा पक्राउ पर्ने कतिपय विदेशी नागरिक सैनिक पृष्ठभूमीका समेत छन्। ब्युरोले यी घटनासँग सम्बन्धित ३५ पीडित बालबालिकाको उद्दार पनि गरेको छ।

नेपालमा बाल यौनदुराचारीको अभियोगमा पक्राउ परेका सबैजसो दुराचारीहरुको चाहना अप्राकृतिक मैथुन देखिएको छ। प्रहरीका अनुसार अहिलेसम्म नेपालमा पक्राउ परेका बाल यौनदुराचारीहरु पुरुष भएको र उनीहरुबाट उद्दार गरिएका बच्चाहरु पनि पुरुष नै रहेका छन्।

उनीहरुले बालबालिकालाई पैसा, खानेकुरा वा अन्य आकर्षक वस्तुहरु दिएर विभिन्न ढंगबाट प्रलोभनमा पारी यौन शोषण गरेको पाइएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .