समाज


दुई घण्टाको यात्रा ४५ मिनेटमै छोटियो

दुई घण्टाको यात्रा ४५ मिनेटमै छोटियो

फाइल तस्बिर।


नेपालखबर
फागुन २२, २०७९ सोमबार ७:७, काठमाडौँ

म्याग्दीको जलजला गाउँपालिका–८ लस्तीदेखि वडा नम्बर ९ को बनौ जोड्ने सडक निर्माण भएपछि दुई घण्टाको यात्रा ४५ मिनेटमै पूरा गर्न सकिने भएको छ

सडक निर्माण भएसँगै बनौका बासिन्दालाई गाउँपालिकाको केन्द्र लामाखेत आवतजावतको दूरी घटेको हो।

जलजला–९ बनौका वडाध्यक्ष गौबहादुर पुनले सर्पको गुँड भिरमा मार्ग खुलेसँगै बनौ र लस्ती सीधा सडक सञ्जालमा जोडिएको बताए।

‘बनौदेखि पाङ–अर्मादी–मालढुङ्गा–लामाखेत जोड्ने ४० किलोमिटर घुमाउरो सडक पार गर्न दुई घण्टा लाग्थ्यो’, उनले भने, ‘२० किलोमिटर दूरीको बनौ(लस्ती(लामाखेत सडक ४५ मिनेटमा पार गर्न सकिने भएको छ।’ 

घुमाउरो सडकको यात्रा गर्नुपर्दा बनौवासीलाई लामाखेत आउन जान झञ्झट, सास्ती भएपछि विसं २०७५ देखि लस्ती–बनौ सडक निर्माण सुरु भएको थियो। सडक निर्माणपछि बनौका पाँच सय घरधुरीका साथै धाइरिङको सल्ले, एकपाटे, खानीगाउँका बासिन्दा लाभान्वित भएका छन्। 

चार वर्षको प्रयासमा सल्लेनीको सर्पको गुँड भन्ने भिरमा मार्ग खोल्ने काम यसपटक सकिएको उपभोक्ता समितिका अध्यक्ष दुलबहादुर पुर्जाले बताए। ‘यसअघिका तीन वर्ष बजेट विनियोजन भए पनि काम गर्न नसकेर फ्रिज भयो’, उनले भने, ‘यसपालि उपभोक्ता समितिमार्फत मार्ग खोल्न सफल भयौँ।’ 

सडक निर्माणमा सङ्घीय सरकारबाट दुई चरणमा रु एक करोड ३० लाख विनियोजन भए पनि भौगोलिक कठिनाइ र जोखिम भएकाले निर्माण व्यवसायीले काम गर्न नसकेपछि सबै बजेट खर्च हुन सकेन। गत वर्ष जलजला गाउँपालिकाले रु २५ लाख विनियोजन गरेर ठेक्का आह्वान गरेको थियो। 

अक्करे र जोखिमयुक्त पहाडमा सडक निर्माणका लागि व्यवसायी तयार नभएपछि ठेक्का रद्द भएको थियो। यसपाली गण्डकी प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालयमार्फत रु ३० लाख बजेट विनियोजन भएको थियो।

उपभोक्ता समितिका अध्यक्ष पुर्जाका अनुसार पाँचरछ जना डोजर अपरेटरलाई देखाउँदा जोखिम भएको भन्दै काम गर्न मानेनन्। डोजर अपरेटर माधव रेग्मीले ओडार परेको भिरमा काम गर्ने आँट गरे।

जोखिम मोलेर संयमतापूर्वक डोजर चलाएर मार्ग खोल्न सफल पनि भए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad