समाज


ताक्लाकोट सडक निर्माणको जिम्मा सेनालाई दिन जनप्रतिनिधिको माग

ताक्लाकोट सडक निर्माणको जिम्मा सेनालाई दिन जनप्रतिनिधिको माग

नेपालखबर
फागुन ११, २०७९ बिहिबार १५:२७, काठमाडौँ

सुदूरपश्चिमको विकासको मूल ढोकाका रुपमा परिचित बझाङको ताक्लाकोट सडकखण्डको निर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिन साइपाल गाउँपालिकाका जनप्रतिनिधिले संघीय सरकारसँग माग गरेका छन्।

निर्माण व्यवसायीबाट काम गर्दा ढिलो हुने गरेको भन्दै सेनाको जिम्मा दिन साइपालका जनप्रतिनिधिले माग गरेका हुन्। दक्षिणको भारत र सुदूरपश्चिम प्रदेशको त्रिदेशीय नाका जोड्ने यस सडकखण्डलाई बझाङका साथै प्रदेशकै विकासको मेरुदण्डका रुपमा लिइएको भए तापनि सडक निर्माणको कामले तीव्रता पाउन सकेको छैन।

कठिन चट्टानी भिरपाखा फुटाउन मेसिनरी साधन भरिपूर्ण भएको नेपाली सेनालाई ताक्लाकोट सडकखण्ड निर्माण गर्ने जिम्मा दिनुपर्ने गाउँपालिकाका अध्यक्ष मानवीर बोहराले बताए। सेनाले छोटो समयमै त्यस क्षेत्रको काम सम्पन्न गर्नसक्ने आकलन भएको जनप्रतिनिधिको निष्कर्ष रहेको अध्यक्ष बोहोराको भनाइ छ। 
    
निर्माण व्यवसायीको जिम्मा दिँदा यही गतिमा हुने हो भने यो काम गर्न अझै १० वर्ष लाग्नसक्ने उनको भनाइ छ। निर्माण व्यवसायी र सेनाको काममा निकै भिन्नता रहेको जनप्रतिनिधिको ठम्याइ छ।

सङ्घीय सरकारले प्रत्येक वर्ष बजेट छुट्याएर सुस्त गतिमा काम भयो भन्नुभन्दा तत्काल नेपाली सेनाको जिम्मा लगाउनु उचित रहेको अध्यक्ष बोहराले बताए। बुधबार मात्रै प्रतिनिधिसभा सदस्य भानुभक्त जोशीले उक्त सडकखण्डको अनुगमन गरेका छन्। यस वर्ष सडक निर्माणको कामले गति नलिएकोसमेत जोशीले बताए। 

कामलाई छिटोछरितो अगाडि बढाउन निर्माण कम्पनीलाई पनि निर्देशन दिइएको उनको भनाइ छ। गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङले केही दिन अगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँंग आफूले भेटका क्रममा ताक्लाकोट सडकखण्डको काम गर्ने जिम्मा सेनालाई दिनुपर्ने माग गरेको बताए।

सदरमुकाम चैनपुरबाट उत्तरीखण्डमा निर्माण भइरहेको यो सडक छिटो निर्माण गर्न यस क्षेत्रका बासिन्दाको चाहना भए पनि सडक निर्माणको ठेक्का लिएका निर्माण कम्पनीको लापरबाहीका कारण काम ढिला भएको स्थानीयले बताएका छन्। रूपातोलादेखि साइपालको धुलीसम्म सडक निर्माणको जिम्मा लिएको नागार्जुन जेभी कम्पनीको काम झन सुस्त देखिएको छ। रुपातोलाबाट धुलीसम्म नागार्जुन निर्माण सेवाले विसं २०७४ मङ्सिरमा काम सुरु गरेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad