मलेसियामा रोजगारीमा रहने क्रममा एकजना महिला र उनकी बहिनीको तस्बिर प्रयोग गरेर सामाजिक सञ्जालमा जथाभावी लेखेको आरोपमा एकजना युवा पक्राउ परेका छन्।
प्रहरी प्रधान कार्यालयको साइबर ब्युरोले रौतहटको देवाही गोनही नगरपालिका-५ टिकुलिया निवासी २२ वर्षीय हरिहरप्रसाद यादवलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।
साइबर ब्युरोका अनुसार एक महिलाले आफ्नो चरित्र हत्या गर्ने गरी आफ्नो बहिनीको पनि तस्बिर प्रयोग गरेर सामाजिक सञ्जालमा हालेको भन्दै उजुरी दिएकी थिइन्।
उक्त तस्बिरमा चरित्रहत्या हुने अश्लील शब्दहरू लेखी पोस्ट गर्नुका साथै पीडितका परिवारलाई मानसिक तनाव र हैरानी दिने गरेको गुनासो प्रहरीकहाँ पुगेको थियो।
ब्युरोको अनुसन्धानका क्रममा उक्त प्रोफाइल विदेशबाट सञ्चालित रहेको खुलेको थियो। त्यसपछि यादवलाई वैदेशिक रोजगारी सकेर मलेसियाबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई पक्राउ गरिएको हो।
यादवलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ म्याद थप गरेर अनुसन्धान अघि बढाइएको ब्युरोका उप-निर्देशक एवम प्रहरी उपरीक्षक पशुपतिकुमार रायले बताए।
Shares
प्रतिक्रिया