बुधबार राति ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा जलेर गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीलाई उपचारका लागि भारतको मुम्बई लगिने भएको छ।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भण्डारीलाई उपचारका लागि श्री एयरलाइन्सको जहाजबाट बिहीबार नै मुम्बई लाने तयारी भएको बताएका छन्।
स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले पनि भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लैजाने तयारी भएको जानकारी दिएका छन्।
मन्त्री गिरी भण्डारीलाई भेट्न कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन्। उनले सरकारले सबै उपचार खर्च व्यहोर्ने गरी भण्डारीलाई मुम्बई लाने तयारी भएको बताएका छन्।
यसैबीच भण्डारीकी आमा ८९ वर्षीया हरिकलाको भने बिहीबार बिहान १० बजेर ५८ मिनेटमा निधन भएको छ।
ग्यास लिक हुँदा उनको शरीरको ७० प्रतिशत भाग जलेको थियो। त्यस्तै छोराको भने २५ प्रतिशत शरीरको भाग जलेको कीर्तिपुर अस्पतलले जनाएको छ।
Shares
प्रतिक्रिया